– रेखा चन्द

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले भदौ महिनाको नयाँ ब्याजदर आज सार्वजनिक गरेका छन्। 

व्यक्तिगत मुुद्दति निक्षेप र साधारण बचतको ब्याजदर स्थिर राख्दै बैंक तथा वित्तीय संस्थाले भदौको ब्याजदर सार्वजनिक गरेका हुन्। यद्यपि संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने नियामक नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार २ प्रतिशतले अन्तर राख्दै बैंकहरुले घटाएका छन्। 

बैंक तथा वित्तीय संस्थाहरुले लामो समयदेखि निक्षेपको ब्याजदर स्थिर राख्दै आएका छन्। गत पुस महिनादेखि ब्याज नबढाउँदा कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार बेस रेट (आधार दर) मा कस्तो प्रभाव पर्ला ? भन्ने अहिले चौतर्फी चासोको विषय बनेको छ। 

भदौको ब्याजलाई पनि बैंकहरुले स्थिर राख्ने निर्णय गर्दा कतिपयले बेस रेट घट्ने संकेत देखिएको बताएका छन्। कतिपयले भने ब्याजदर स्थिर हुँदा हाललाई बैंकको बेस रेट पनि स्थिर नै रहने धारणा राखेका छन्। 

हाललाई बैंकको बेस रेट स्थिर नै रहने एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ बताउँछन्। ‘कात्तिक महिनामा मात्रै बैंकको बेस रेट बढ्न सक्छ’, उनले भने, ‘किनभने पुराना ६–७ प्रतिशतमा राखेको डिपोजिटहरुलाई अहिलेको निर्णयअनुसार ब्याज दिँदा त्यो अवस्थामा बेस रेट बढ्न सक्छ तर बढेन भने स्थिर रहन्छ।’

संस्थागत निक्षेपको नवकरण धेरै रहेको खण्डमा भदौको अन्तिम तथा असोजमा बैंकको बेस रेट घट्ने पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री बताउँछन्। तर, व्यक्तिगत निक्षेपहरु यो महिनामा परिपक्क भएर नवीकरण हुँदा भने बैंकको बेस रेट बढ्न सक्ने उनको भनाइ छ। ‘अघिल्लो महिनाहरुमा परिपक्व नभएको व्यक्तिगत निक्षेप यो महिनामा परिपक्व भएर उच्च रेटमा नवीकरण हुँदा बेस रेट माथि जान्छ’, उनले भने, ‘तर, संस्थागतको ब्याज ९.०३ प्रतिशतमा आएको छ, त्यसको नवीकरण धेरै छ भने भदौ महिनाको अन्तिम तथा असोजमा बैंकको बेस रेट घट्ला।’

साधारण बचत र व्यक्तिगत मुद्दति निक्षेपमा ब्याज स्थिर राख्ने र संस्थागतको ब्याज घटाउने बैंकहरुको निर्णयले बेस रेट घट्न सक्ने वित्त विश्लेषक हेमन्त बस्याल बताउँछन्। यससँगै कर्जाको ब्याजदरमा पनि गिरावट आउन सक्ने उनको अनुमान छ। ‘संस्थागत मुद्दति निक्षेपको ब्याज १ प्रतिशतले घटे पनि बेस रेटमा तुरुन्त त्यसको असर देखिँदैन’, उनले भने, ‘किनकि त्यो घटेको नयाँ आउने डिपोजिटका लागि हो।’

बस्यालका अनुसार संस्थागत निक्षेपको कम्पोजिसनमा करिब २५–२६ प्रतिशत बराबरले फिक्स्ड डिपोजिटमा रहेको छ। ‘संस्थागतको कुल डिपोजिट ४० प्रतिशतको आसपासमा रहेको छ, त्यसको २५ प्रतिशत बढी फिक्स्ड डिपोजिटमा छ’, उनले भने, ‘त्यसैले बैंकहरुको बेस रेट ०.३ प्रतिशतले तल आउन सक्छ।’ 

बैंकले ब्याजदर स्थिर राख्दा बेस रेट पनि स्थिर रहने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। ‘बैंकहरुको ब्याजदर स्थिर भइसकेपछि बेस रेटमा प्रभाव पर्दैन’, उनले भने।