काठमाण्डौ । बैंकिङ उद्योगको बहुचर्चित र बहुप्रतिक्षित हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि प्रारम्भिक समझदारी(एमाओयू)मा हस्ताक्षर हुने भएको छ । 

हिमालयन बैंकका एक उच्च अधिकारीकाअनुसार यी दुई बैंकबीच भोलि(बिहीबार) एक कार्यक्रमका बीच हस्ताक्षर हुने भएको हो । 

काठमाण्डौको एलोफ्ट होटलमा एक औपचारिक कार्यक्रममा दुवै बैंकका अध्यक्षहरु पृथ्वीबहादुर पाँडे र तुलसी गौतमले एमाओयूमा हस्ताक्षर गर्नेछन् । कार्यक्रममा अत्यन्त न्यून मात्र उपस्थिति हुनेछ भने हस्ताक्षर कार्यक्रमको लाइभ भर्चुअल माध्यमबाट गरिनेछ । 

यी दुई बैंकबीच एक बराबर एकको सेयर स्वाप अनुपातमा मर्जर सम्झौता हुन लागेको हो । 

मर्जरपछि बन्ने बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक रहने दुवै बैंकको संचालक समितिले निर्णय गरिसकेको छ । 

मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक राणा नै रहनेछन् भने संचालक समितिको अध्यक्षमा इन्भेष्टमेन्ट बैंकका अहिलेको अध्यक्ष पृथ्वीबहादुर पाँडे रहनेछन् । 

दुई बैंकबीच मर्जरको सम्झौतापछि चालु आर्थिक वर्षभित्रैबाट एकीकृत कारोबार भने सुरु हुन नसक्ने देखिएको छ । अब नयाँ आर्थिक वर्षको पहिलो त्रैमासभित्र मर्जरको सबै काम सकेर एकीकृत कारोबार थाल्ने गरी एमओयू हुन लागेको हो । 

यी दुई बैंकबीच मर्जरका लागि एमओयू हुने भनिए पनि बीचको केही समय आपसी टकरावले प्रक्रिया अलमलमा परेको थियो । तर, नेपाल राष्टबैंकका गभर्नर महाप्रसाद अधिकारीले दुवै बैंकका अध्यक्षलाई बोलाएर क्लास लिएपछि यी दुवै बैंक मर्जर सम्झौता गर्न र असहमतिहरुलाई थन्काएर अगाडि बढ्न राजी भएका हुन् । 

यी दुई बैंक एक भएपछि उद्योगका अन्य ठूला बैंकहरुलाई पनि मर्जर वा एक्वीजिसनमा जान दवाब पुग्ने विश्वास गरिएको छ । यी दुई बैंकको एमओयू लगत्तै नवील बैंकले पनि नेपाल बंगलादेश बैंक र एनसीसी बैंकलाई प्राप्तिको सम्झौता गर्ने प्रयासलाई छाडेको छैन ।