काठमाण्डौ । सचिवालय बैठकअघि सत्तारुढ दल नेकपाभित्र भाँडभैलो मच्चिएको छ । 

केपी ओलीलाई प्रधानमन्त्री र पार्टीको अध्यक्ष पदबाटै हटाउन प्रचण्ड र माधव नेपाल पक्षले प्रयास गरेको भन्दै ओलीका केही सांसदहरुले बालुवाटारबाटै हस्ताक्षर संकलनको अभियान थालेपछि यसले जटिल परिस्थिति सिर्जना गर्ने देखिएको छ । 

ओली निकटका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ, नवराज सिलवाल लगायतको समन्वयमा ओलीको पक्षमा संसदीय दलमा बहुमत सिद्ध गर्न सांसदहरुको हस्ताक्षर संकलनको अभियानलाई जारी राखिएको छ । यो समाचार तयार पार्दासम्म ७० बढी सांसदले ओलीको पक्षमा हस्ताक्षर गरिसकेका छन् । ओलीलाई बहुमतसिद्ध गर्न ८८ सांसदको मत चाहिन्छ । 

ओलीको अभियानमा पूर्व माओवादीका केही सांसदहरुले समेत हस्ताक्षर गरेपछि प्रचण्ड तनावमा परेका छन् । कृष्णबहादुर महरा लगायतका केही सांसद ओलीको पक्षमा एकाएक यूटर्न भएपछि पूर्व माओवादी पक्षबाट मन्त्री भएकाहरुले हस्ताक्षर अभियानले पार्टीमा फूट सिर्जना भन्दै असहमति स्वरुप आजै साँझसम्म सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । 

पूर्व माओवादी खेमाबाट रामबहादुर थापा, वर्षमान पुन, लेखराज भट्ट, बिना मगर, रामेश्वर राय यादव, शक्तिबहादुर बस्नेत मन्त्री छन् । आफूहरु पार्टी एकताको पक्षमा रहेको उल्लेख गर्दै लेखराज भट्टले एकतामा आँच आउने र पार्टीमा फूटको भावना सिर्जना गर्ने कुनै पनि अभियानमा आफूहरुको सहमति नहुने प्रष्ट्याएका छन् । 

‘यदि फूट सिर्जना गर्ने हिसाबले र एकले अर्को पक्षलाई सिध्याउने वा देखाइदिने भावनाले हस्ताक्षर अभियान वा यस्तै गतिविधि हुन्छ भने हामी सामूहिक राजीनामा दिनेछौ ।’ उनले बिजशालासँग भने । 

मन्त्री भट्ट र रामबहादुर थापा यसअघि केपी ओलीलाई समर्थन गर्दै अगाडि आएका थिए । तर, हिजो ओली र प्रचण्डबीचको भेट चर्काचर्कीमा परिणत भई दुई नेताबीचको आपसी तिक्तता सतहमा आएपछि पार्टी फूट्ने भन्दै एकताका लागि पूर्व माओवादीका यी दुवै नेता पुनः प्रचण्डको समर्थनमा देखिएका छन् । 

यी नेताहरुले हिजोको दिनमा पनि पार्टी फुटाउनुहुन्न भन्ने आफूहरुको लाइन रहेको र यहीकारण ओलीलाई साथ दिएको प्रष्ट्याएका छन् । उनीहरुले हस्ताक्षर अभियान जुनसुकै अवस्थामा भए पनि रोक्न पनि माग गरेका छन् । 

ओली पक्षले भने उनीहरुको माग सुनेको छैन । प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूह मिलेर आफूलाई दुवै पदबाट हटाउन खोजिएको भन्दै ओली पछिल्लो आक्रामक र रुष्ट छन् । उनले कुनै पनि अवस्थामा संसदीय दलमा बहुमतको शक्ति देखाउने र त्यही आडमा राजीनामा दिएर पुनः प्रधानमन्त्रीमा नियुक्त भई २ वर्षसम्म ढुक्कले सरकार चलाउने योजना बनाएका स्रोत दाबी गर्छ । 

संविधानमा एकपटक निर्वाचित सरकारलाई २ वर्षसम्म अविश्वासको प्रस्ताव गर्न नपाइने व्यवस्था छ । 

यसैबीच, पार्टी फुट्न नहुने पक्षमा पूर्व एमालेका मन्त्रीहरु योगेश भट्टराई र घनश्याम भूसाल पनि अगाडि देखिएका छन् । आजको सचिवालय बैठकमा यदि प्रचण्ड र नेपालले ओलीलाई हटाउने प्रस्ताव लगे आफूहरुले राजीनामा दिएर खुलेरै ओलीको विरुद्धमा लाग्ने तयारी गरिरहेका उनीहरु निकट स्रोतले दाबी गरेको छ । 

किन मिलेन कुरा ? 
नेकपाभित्र उत्पन्न विवादको विषयमा लामो समयको प्रयासपछि पनि कुरा मिल्न सकेको छैन । 

प्रचण्ड र माधवकुमार नेपाल समूहमा झलनाथ खनाल, बामदेव गौतम र नारायाणकाजी श्रेष्ठ लगायतका नेताहरु छन् । उनीहरुले ओलीलाई दुई पदमध्ये एक पद छाडेर सहमतिको वातावरण तयार गर्न आग्रह गरेका थिए । तर, ओलीले त्यो प्रस्ताव अस्वीकार गरेका थिए । 

त्यसपछि प्रचण्ड नेपाल समूहले पार्टी महाधिवेशनअघि ३ सदस्यीय अध्यक्ष मण्डल बनाउने र तेश्रो अध्यक्षको रुपमा माधवकुमार नेपाललाई ल्याउनुपर्ने अर्को प्रस्ताव पठाएको थियो । ओलीले त्यो प्रस्ताव समेत ठाडै अस्वीकार गरिदिए । 

ओलीले यो क्रममा बरु पार्टी महाधिवेशनअघि ५ सदस्यीय अध्यक्ष मण्डल बनाउने प्रस्ताव गरेका थिए । माधव नेपाल, झलनाथ खनाल र रामबहादुर थापालाई समेत अध्यक्ष मण्डलमा समावेश गराउन सकिने ओलीको भनाई थियो । यसमा प्रचण्ड र नेपाल पक्षले गम्भीर विमति जनाएको थियो । 

ओलीले आफूहरुसँगको भेटमा निहूँ खोज्ने कुरा गरेको भन्दै पछिल्लो समय प्रचण्ड समेत उनीबाट चिढिएका छन् । बामदेव गौतमसँग ओलीको केही दिनअघि बालुवाटारमा चर्काचर्की नै परेको थियो । हिजो प्रचण्डसँग चर्काचर्की परेको स्रोत दाबी गर्छ । दुवै नेताहरुले एकअर्कालाई देखाइदिने चेतावनी दिंदै अढाईघण्टा लामो छलफल अन्त गरेका थिए । 

यसरी हेर्दा सत्तारुढ दलभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । 

२० स्थायी कमिटीले तत्काल बैठक बोलाउन माग गरेको विषयमा ओलीले आलटाल गरिदिएपछि समस्या थप चर्किदै गएको देखिएको छ । ओलीले स्थायी समिति बैठकअघि आफूलाई संसदीय दलभित्र बहुमतप्राप्त नेताको रुपमा प्रमाणित गर्ने कोशिश गरेका छन् । यसो भयो भने आफूलाई प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने र विरोध गर्नेहरु त्यसै किनारा लाग्ने ओली पक्षको विश्लेषण छ । 

ओलीको यो अभियानमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत साथ दिइरहेकी छिन् । विभिन्न सांसदहरुलाई शितल निवास नै बोलाएर ओलीको पक्षमा लाग्न उनले भूमिका निर्वाह गरिरहेकी ओली निकट स्रोत दाबी गर्छ । उनले चीनका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरी ओली सरकारको पक्षमा दवाब सिर्जना गरिदिन समेत अनुरोध गरेकी विषय राजनीतिक वृत्तमा अहिले भाइरल भइरहेको छ ।