काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा थप एकजनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

केही साताअघि नेप्सेका एक अधिकारीलाई कोरोना संक्रमण भएपछि नेप्सेमा करिब ४० जना कर्मचारीहरुको गत आइतबार पीसीआर परीक्षण भएकोमा थप एकजनालाई कोरोना संक्रमण देखिएको हो । बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

स्रोतका अनुसार पछिल्लो पटक कोरोना पुष्टि भएका ती व्यक्ति नेप्से प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको सचिवालयमा कार्यरत कर्मचारी हुन् ।

नेप्सेमा प्रमुख कार्यकारी अधिकृतको सचिवालयका ती अधिकारीलाई कोरोना संक्रमण भएपछि प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । अन्यको पनि कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको नेप्सेस्थित स्रोतको भनाइ छ ।