काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणले स्थानीय तह तथा उपभोक्ता समूहहरुलाई सडक बत्तीको बक्यौता रकम १५ दिनभित्र बुझाउन अल्टिमेटम दिएको छ। तोकिएको समयभित्र बक्यौता रकम नबुझाए विद्युत सेवा बन्द गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ। 

प्राधिकरणले आज एक सूचना जारी गर्दै स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका) वा उपभोक्ता समूहहरुले जडान गरेका सडक बत्तीहरूको बक्यौता महसुल तिर्न समयसीमा दिएको हो। बक्यौता पछिल्लो समयमा वृद्धि हुँदै गएको र केही स्थानीय तहले मासिक विद्युत बिल समर्थन गर्नसमेत आनाकानी गर्ने गरेको पाइएको सूचनामा उल्लेख छ। 

प्राधिकरणले सडकबत्ती प्रयोग गरे बापत जारी भएका विद्युत बिलहरु समयमै भुक्तानी गर्न तथा बिल समर्थन गर्न बाँकी रहेका स्थानीय तह तथा उपभोक्ता समूहहरुले नियमानुसार संयुक्त प्रमाणीकरण गरी बिल समर्थन गरी यथाशीघ्र विद्युत महसुल भुक्तानी गर्न अनुरोध गरेको छ।