काठमाण्डौ । सत्ता गठबन्धनका नेताहरुमा कोभिड संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन्। 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री कार्की कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। देउवा र कार्की शनिबारदेखि भेटघाट बन्द गरी आइसोलेसनमा बसेका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवामा कोभिडसँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएको छ। त्यसैले कोभिड परीक्षण गर्ने कि नगर्ने भन्ने पनि यकिन भइसकेको छैन। 

देउवा शनिबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर फर्किएलगत्तै अध्यक्ष प्रचण्ड संक्रमित भएको खबर पाएपछि आइसोलेसनमा बसेका हुन्।

मन्त्री कार्कीको भने आइतबार कोरोना परीक्षण गराउने तयारी भइरहेको बताइएको छ। 

प्रधानमन्त्री देउवा र मन्त्री कार्की शुक्रबार सत्तारुढ दलका शीर्ष नेताहरु संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी भएका थिए। 

भोलिपल्ट शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता श्रेष्ठलगायतमा कोभिड पुष्टि भएको थियो।