काठमाण्डौ । शेरबहादुर देउवा नेतृत्वको सरकार एकाएक अमेरिकासँग नजिकिएपछि सत्ता गठबन्धनमा सहभागी दलहरुको नेतृत्वलाई सरकार छाड्ने तीव्र दवाब सिर्जना भएको छ । 

देउवाले पछिल्लो समय एकाएक अमेरिकासँगको सम्बन्धलाई प्राथमिकतामा राखेपछि यसबाट चीनसँग नजिक देखिने कम्युनिष्टहरु झस्किएका छन् । चीन लगायतका छिमेकीहरुको देउवासँगको सहकार्य तोड्ने ती पार्टीमा तीव्र दवाब परेको उच्च स्रोतहरु दाबी गर्छन् । 

विभिन्न शक्तिकेन्द्रहरुको चलखेलका कारण सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्रदेखि नेकपा एस र जनता समाजवादी पार्टीसम्ममै नै भूइँचालो जान थालेको छ । यी तीनवटै पार्टी फूटको संघारमा पुगेका छन् । पार्टीभित्रैबाट विद्रोह हुने अवस्था देखिएपछि प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व गठबन्धन दलका कुनै नेतालाई दिनेदेखि मन्त्रीहरु हेरफेरसम्मको तयारी गरिरहेका छन् । 

माओवादीमा विद्रोहको सम्भावना
अमेरिकासँगको हिमचिम अस्वभाविक ढंगले देउवाले बढाएपछि सबैभन्दा तीव्र दवाब माओवादी केन्द्रमा परेको छ । 

कांग्रेससँगको गठबन्धन तोडेर कम्युनिष्टहरुको गठबन्धन बनाउने अजेण्डासहित माओवादीका दुई प्रभावशाली नेताहरुले भेटघाटलाई तीव्र पारेका छन् । कतिसम्म भने हिजोको दिनमा प्रचण्ड निकट मानिने नेताले पार्टी फूटाएरै भए पनि कांग्रेससँगको गठबन्धन तोड्ने, कम्युनिष्टबीच एकता गरी आगामी निर्वाचनबाट कम्युनिष्ट नेतृत्वको सरकार बनाउनेसम्मको तयारी गरिरहेका स्रोतहरु दाबी गर्छन् । 

माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्र वर्षमान पुन कांग्रेस नेतृत्वको सरकारमा पार्टी बस्नै नहुने प्रष्ट अडानसहित विद्रोहको वातावरण तयारीमा लागेका सोही पार्टीका नेताहरु बताउँछन् । उनलाई माओवादीकै अर्का नेता नारायणकाजी श्रेष्ठले साथ दिइरहेका छन् । पुन र श्रेष्ठले यो बीचमा पटक–पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरिसकेका छन् । उनीहरु एमालेसँग मिलेर बाम गठबन्धन बनाई आगामी चुनावमा होमिनुपर्ने अजेण्डा बोकेर अगाडि बढेका छन् । 

बामएकता र गठबन्धनका लागि प्रचण्डमाथि दुवै नेताले दवाब पनि सिर्जना गरेका छन् । अहिलेको दवाबले काम नगरे पार्टी नै फुटाउनेसम्मको तयारी भइरहेको स्रोत दाबी गर्छ । यदि पुन र नारायणकाजीले पार्टी फुटाए भने उनीहरुको नेतृत्वको पंक्ति एमालेसँग सहकार्य गर्ने गरी अगाडि बढ्ने देखिएपछि प्रचण्ड समेत अत्तालिएका छन् । 

पार्टीमा फूट आउनसक्ने संकेत पाएकै कारण प्रचण्डले मन्त्रीहरुको हेरफेरको तयारीमा लागेका स्रोत दाबी गर्छ । नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित शक्तिशाली मन्त्रालय दिएर मन्त्री बनाउने र पुनको समेत व्यवस्थापन गरी तत्काल पार्टी फुट्न नदिने र गठबन्धन पनि जोगाउने प्रचण्ड रणनीति छ । 

प्रचण्ड गठबन्धनमा समस्या आएको खण्डमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएरै भए पनि अगाडि बढ्ने सोंचमा रहेका उनीनिकट एक नेताले दाबी गरेका छन् । 

नेकपा एस झनै ठूलो समस्यामा
नेकपा एसले हाल सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाई नयाँलाई पठाउने निर्णय गरेको थियो । तर, सो निर्णय प्रधानमन्त्री देउवाले कार्यान्वयन नगरिदिएपछि सो पार्टीमा निकै ठूलो समस्या आइलागेको छ । 

पार्टीको तर्फबाट सरकारमा सहभागी भएकाहरुले मन्त्री पद फुस्किएमा पार्टी फुटाउनेसम्मको योजना बनाएका विषय बाहिरिसकेको छ । एसबाट विद्रोह गरेरै भए पनि अगाडि बढ्ने भन्दै मन्त्रीहरुले माधव नेपाललाई चेतावनी नै दिएका थिए । उनीहरुले पार्टी फुटाएर प्रचण्डको दलमा समाहित हुने वा प्रचण्डले भाउ नदिए पुनः केपी ओली नेतृत्वको एमालेमै फर्किनेसम्मको तयारी गरेका थिए । प्रधानमन्त्री देउवा र प्रचण्डको सल्लाहमा नेकपा एसलाई फूटबाट तत्कालका लागि जोगाइए पनि यो प्रकरणले सो दलमा हलचल ल्याइदिएको छ । नेकपा एसका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतले पार्टीको मन्त्रीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नभए गठबन्धनमा बसिरहनुको अर्थ नहुने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । 

नेकपा एसले हैसियतभन्दा बढी माग गरेको निश्कर्षसहित कांग्रेस र माओवादीले सो दललाई पाखा लगाएर दुई दलको मात्र गठबन्धन बनाउने गृहकार्य गरेको बुझेर माधव नेपाल र झलनाथ खनाल कडा रुपमा प्रस्तुत भइरहेका छन् । खनाल त एमालेसँग सहकार्य गरेर अगाडि बढ्दा फरक नहुने अभिव्यक्ति समेत दिइरहेका छन् । यसबाट समेत नेकपा एस अहिलेको गठबन्धनबाट अलग हुने अवस्थातर्फ उन्मुख भइरहेको बुझ्न गाह्रो छैन । 

जसपा फुटको संघारमा
देउवाको अमेरिकासँगको निकटता लगायतका कारणले गठबन्धनको अर्को दल जनता समाजवादी पार्टी पनि फूटको संघारमा पुगेको छ । 

सो पार्टीका नेता उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच पुनः कटुता सिर्जना भएको छ । दुवै एकअर्कालाई कारबाही गरेर अगाडि बढ्ने मनस्थितिमा पुगेका स्रोतहरु बताउँछन् । 

उनीहरु दुवैको क्रियाकलाप हेर्दा जसपा निकट भविष्यमै फुट्ने अवस्था देखिएको सोही दलका एक केन्द्रीय सदस्य बताउँछन् । 

यो बीचमा उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई भेट गरिसकेका छन् भने डा. भट्टराईलाई ओलीका दूतहरुले भेटिसकेका छन् । यसले जसपा फूटेमा कुनै न कुनै पक्ष पुनः एमालेसँग सहकार्य गर्न पुग्ने देखिन्छ । 

जसपा फूटे यसले सत्ता गठबन्धनलाई समस्यामा मात्र पार्दैन, आगामी निर्वाचनमा देउवालाई मधेशमा निकै ठूलो सकस हुने अवस्था समेत सिर्जना हुनसक्नेछ । 

के गर्ला कांग्रेस ?
पछिल्लो समयका रणनीतिहरुमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सफल हुँदै आएका छन् । 

हालै सम्पन्न स्थानीय निकायको निर्वाचनमा समेत कांग्रेसलाई राम्रो सफलता हात लागेको छ । 

गठबन्धनकै दलहरु आफूहरुसँगको सहकार्यले कांग्रेसलाई मात्र लाभ पुगेको निश्कर्ष निकालेर हिँडिरहेका छन् । 

स्थानीय निकायको मतपरिणामका कारण गठबन्धनभित्रैका दलहरुमा उत्पन्न असन्तुष्टिलाई देउवाले सम्बोधन गर्न सकेका छैनन् । 

गठबन्धनका दलले मन्त्री फेर्न सिफारिस गर्दा समेत त्यसको असर फूटसम्म आउनसक्ने देखेर उनले त्यसलाई रोकेका छन् । तर, धेरै रोक्ने अवस्थामा उनी नरहेका स्रोतहरु बताउँछन् । 

यस्तो अवस्थामा देउवाले भरसक गठबन्धन जोगाउने, त्यसका लागि बजेट पारित भएपछि मन्त्रीहरु हेरफेर गर्ने र त्यति गर्दा समेत पार लागेन भने प्रचण्ड वा माधव नेपालमध्ये एकजनालाई प्रधानमन्त्री बनाएर आगामी निर्वाचनमा होमिनेसम्मको तयारी गरिरहेका दाबी गरिएको छ ।