काठमाण्डौ । सनराइज बैंक लिमीटेडको वार्षिक साधारणसभाले ५.८० प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरेको छ । 

पुस २४ गते सम्पन्न १३ औं वार्षिक साधारणसभाले हाल कायम चुक्तापूँजीको ५.८० प्रतिशतका दरले बोनस सेयर र २.४८ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

बैंक संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न सभाबाट पारित भएको प्रस्ताव अनुसार अब बैंकले ५२ करोड १ लाख ३३ हजार ३३ रुपयाँ बराबरको बोनस सेयर र २२ करोड २४ लाख एकहजार ७ सय २३ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्नुपर्नेछ । 

प्रतिष्ठित व्यावसायिक घरानाहरु, संस्थापक तथा कुशल व्यवस्थापक रहेको यो बैंक २०६४ साल आश्विन २५ मा स्थापना भएको थियो । हाल यस बैंकको हाल चुक्ता पूँजी रु. ८ अर्ब ९६ करोड रहेको छ, अब साधारण सभाबाट पारित बोनस शेयर बितरणपश्चात बैंकको चुक्ता पूँजीमा बृद्धि भई रु. ९,४८,७९,४४,४९९.३९ कायम भएको छ । 

देशको विभिन्न क्षेत्रमा छरिएर रहेका सर्वसाधारण वर्ग, कृषि जन्य उद्योग, साना तथा मझौला उद्योग, जलविद्युत आयोजना, व्यापार व्यवसायमा संलग्न व्यापारिक घराना समेतलाई बैंकको सेवामा आवद्ध एवं समाहित गर्दै सर्वसुलभ तवरले बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यलाई निरन्तरता दिदैं आएको छ । हाल यस बैंकले देशभरका १३९ वटा शाखा, ६१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्र्दै आइरहेको छ ।