काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सनराइज बैंक लिमीटेडलाई ‘क’ वर्गकै कुनै बैंकसँग मर्जर गर्न कडा निर्देशन दिएको छ । 

सिर्जना फाइनान्ससँगको जारी प्राप्ति प्रक्रिया प्रष्ट कारणबिना भाँडिएपछि यसैलाई आधार बनाएर नेपाल राष्ट्रबैंकले मर्जर विनियमावलीअनुसार सनराइज बैंकलाई विभिन्न कारबाही गर्दै ‘क’ वर्गकै बैंकसँग तत्काल मर्जरको सम्झौता गर्न कडा निर्देशन दिएको हो। 

यो निर्देशनसँगै अब सनराइज बैंक लिमीटेडले साना संस्थाहरुलाई प्राप्ति गरी ठूलो बन्ने बाटो बन्द भएको छ भने राष्ट्रबैंकले अन्य कारबाही समेत गरेकोले यो बैंकले तत्काल वाणिज्य बैंकलाई नै मर्जरको पार्टनर छान्नुपर्ने बाध्यता आइपरेको छ । 

राष्ट्रबैंकले सनराइज बैंकलाई ‘क’ वर्गकै बैंकसँग मात्र मर्जरमा जान पाउने गरी कडा निर्देशन मात्र जारी गरेको छैन, यो बैंकका संचालकहरुलाई कारबाही समेत गरेको छ । संचालकहरुलाई मर्जर भाँडिएको विषयमा सचेत गराइएको राष्ट्रबैंकका एक उच्च अधिकारीले जानकारी दिए । 

उनकाअनुसार मर्जर भाँडिएको कारण देखाउँदै सिर्जना फाइनान्सका संचालकहरुलाई पनि कारबाही गरिएको छ । 

यस्तै, सनराइज बैंक र सिर्जना फाइनान्समाथि अन्य कारबाहीहरु पनि भएका छन् । ती अधिकारीले यी दुवै बैंकमाथि तत्काल राष्ट्रबैंकको सुविधाबाट बञ्चित गरिएको जानकारी दिए । यस्तै, तीन वर्षसम्म शाखा खोल्न, प्राप्ति प्रक्रियामा निश्चित अवधिसम्म रोक लगायतका कारबाही समेत गरिएको प्रष्ट पारे । 

राष्ट्रबैंकको मर्जर नियमावलीमा गाभ्न/गाभिन वा प्राप्तिका लागि सैद्धान्तिक सहमतिका लागि निवेदन गरेका संस्थाहरुले प्रचलित कानूनी व्यवस्था बमोजिम पहिले पूँजी संरचना परिवर्तन सम्बन्धी प्रस्तावको टुंगो लगाएपछि मात्र अन्तिम स्वीकृतिको लागि निवेदन दिनु पर्ने र आंशिक रुपमा गाभ्न/गाभिन वा प्राप्ति गर्न नपाइने व्यवस्था गरिएको छ । गाभ्न/गाभिन वा प्राप्तिको सैद्धान्तिक वा अन्तिम स्वीकृति प्राप्त गरेपछि तोकिएको समयमा सो कार्य नगरेमा वा नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर गर्नुपर्ने कार्यहरु स्वीकृति नलिई गरेमा वा विशेष परिस्थिति देखिएमा गाभ्न/गाभ्न वा प्राप्ति गर्न दिइएको स्वीकृति बदर गरी त्यस्ता संस्थाका पदाधिकारीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसारको कारवाही गर्न, आधारभूत शेयरधनीहरुलाई शेयर खरिद विक्री तथा हक हस्तान्तरणमा रोक लगाई त्यस्तो संस्थाको सञ्चालक हुन अयोग्य मान्न, त्यस्तो संस्थालाई गाभ्ने/गाभिने वा प्राप्ति प्रकृयामा निश्चित अवधिसम्म रोक लगाउन र तीन बर्षसम्म शाखा कार्यालय खोल्न वा बैंकले प्रदान गर्ने सुविधाहरु प्राप्त गर्न रोक लगाउन सक्ने अख्तियारी विनियमावलीले नेपाल राष्ट्र बैंकलाई प्रदान गरेको छ । ‘यिनै बुँदाहरुमा टेकेर सनराइज बैंकमाथि हामीले कारबाही गरेका हौं ।’ ती अधिकारीले बिजशालासँग भने–‘मर्जर भाँड्ने अन्य संस्थाहरुको विषयमा समेत राष्ट्रबैंक अब कडा रुपमा प्रस्तुत हुनेछ ।’ 

सनराइज बैंकले २०७६ माघ ८ गते सिर्जना फाइनान्सलाई प्राप्तिको सैद्धान्तिक सहमति गरेको थियो । सिर्जना फाइनान्स लिमिटेड बिराटनगरमा प्रधानकार्यालय रहि मोरङ्ग, सुनसरी र सप्तरी गरी ३ जिल्लामा कार्यक्षेत्र रहेको २१ वटा शाखा भएको फाइनान्स कंम्पनी हो । २०७७ जेठ २९ गते बसेको सनराइज बैंकको संचालक समितिको ३४५ औं बैठकले सिर्जनालाई प्राप्ति गर्ने कार्य रद्ध गर्ने निर्णय गरेको थियो । 

मर्जरको काम अन्तिम अवस्था पुगेको समयमा एकाएक भाँडिएको थियो । त्यसबेलाको सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारणसभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयरबापत स्वीकृत अनुपात अनुसार सनराइज बैंक लिमिटेडको शेयर दिइने भनिएको थियो । तर, अन्तिम अवस्थामा सेयर स्वाप रेसियो र कर्मचारी समायोजनको विषयमा कुरा नमिल्दा प्राप्तिको प्रक्रिया रद्ध भएको थियो ।