काठमाण्डौ । सनराइज बैंक लिमिटेडले ललितपुर जिल्लाको महांकाल गाउँपालिका–६ ठूलादुर्लुङ र सप्तरी जिल्लाको खड्क नगरापकिाल–११ बनौलीमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। 

यी दुुुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७६ पुगेको छ। हिजो मंगलबार आयोजित शाखारहित बैंकिङ सेवा उद्घाटन कार्यक्रम खड्क–११ का वडाध्यक्ष रामकृष्ण चौधरी र प्रदेश प्रमुख रोहितकुमार महासेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। 

त्यसैगरी गत शनिबार आयोजित शाखारहित बैंकिङ सेवा उद्घाटन कार्यक्रममा महांकाल गाउँपालिका–६ का वडासचिव ईश्वरा पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। 

बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत ग्राहकले एटीएम कार्ड प्रयोग गरी निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीसमेत गर्न सक्नेछन्। कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७६ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। साथै बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानमा पनि बैंकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ।