काठमाण्डौ । गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गर्दै सनराइज बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ ।

बैंकको सञ्चालक समितिका अधयक्ष मोतीलाल द्रुगडको सभापतित्वमा सम्पन्न सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको १५.८० प्रतिशत लाभांश पारित गरेको हो।

साधारणसभाले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गरिने प्रस्ताव गरिएको चुक्तपुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँको १० प्रतिशतको दरले हुन आउने ८१ करोड ५२ लाख ५५ हजार ५८५.१० रुपैयाँबराबरको बोनस सेयर  र ५.८० प्रतिशतको दरले हुन आउने ४७ करोड २८ लाख ४८ हजार २३९.३६ रुपैयाँबराबर नगद लाभांश पारित गरेको छ ।

बोनस सेयर पारित भएसँगै बैंकको चुक्तापुँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ पुगेको छ । यसअघि बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ थियो ।

वि.सं. २०६४ साल आश्विन २५ मा स्थापना भएको बैंकले हाल १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४३ वटा एटीएममार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।