काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सनराइज बैंक लिमिटेडको वितरणयोग्य मुनाफा पनि ऋणात्मक भएको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा १७ करोड ५५ लाख रुपैयाँले ऋणात्मक भएको हो। बैंकको खराब कर्जा र आधार दर भने घटेको छ। यी दुवै क्रमशः १.३२ प्रतिशत र १०.०२ प्रतिशतमा झरेका छन्।

समीक्षा अवधिमा खुद नाफा ९१ लाख रुपैयाँ बढीले ऋणात्मक भए पनि समग्र तेस्रो त्रैमाससम्म बैंकले ९३ करोड ५२ लाख रुपैयाँ मुनाफा कमाएको छ। गत वर्ष यही अवधिसम्म बैंकको मुनाफा १ अर्ब २२ करोड रुपैयाँ थियो। 

तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। 
समीक्षा अवधिसम्म बैंकले खुद ब्याज आम्दानीबापत २ अर्ब ९९ करोड रुपैयाँ कमाएको छ। जब कि गत वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६४ करोड रुपैयाँ थियो।

यो अवधिमा बैंकले ८६ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यो अवधिमा बैंकले ७५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकको रिजर्भको आकार २५.७२ प्रतिशतले बढेको छ। गत वर्ष २ अर्ब ८१ करोड रुपैयाँ रहेको रिजर्भमा बढेर ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १३.९१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६.७६ गुणा रहेको छ।