काठमाण्डौ । विराटनगरमा मुख्य कार्यालय रही पूर्वी नेपालका तीन जिल्लामा वित्तीय सेवा प्रवाह गर्दै आएको सिर्जना फाइनान्ससँगको मर्जर प्रक्रिया भाँडिएको भनिए पनि राष्ट्रबैंकले भने थप ३ महिनाका लागि एलओआई थपेको छ । 

सिर्जना फाइनान्सलाई सनराइज बैंक लिमीटेडले प्राप्ति गर्ने सम्झौता गरेको थियो । सम्झौता भएको केही महिनासम्म मर्जरको प्रक्रिया जारी थियो । 

प्राप्ति सम्बन्धी सम्झौता भएको साढे ४ महिनापछि सिर्जना फाइनान्सलाई प्राप्ति नगर्ने भनी सनराइज बैंकको संचालक समितिले निर्णय गरेको थियो ।

जेठ २९ गते बसेको सनराइज बैंकको संचालक समिति बैठकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने गरी भएको सम्झौता रद्धको निर्णय गरेको थियो । 

सिर्जना फाइनान्ससँग सनराइज बैंकले २०७६ माघ ८ गते प्राप्तिको समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । 

तर, बीचको अवधिमा डिडिए रिपोर्ट तथा सिर्जना फाइनान्सका केही उच्चपदस्थ कर्मचारीहरुलाई अस्वभाविक सेवासुविधा दिएर विदा गर्ने विषयमा कुरा नमिल्दा जारी प्रक्रिया नै भाँडिने अवस्था बनेको स्रोत दाबी गर्छ । 

प्राप्ति सम्बन्धी सम्झौता गरेर ठूलो कारणबिना नै भंग गरिएको भन्दै सिर्जना फाइनान्सले राष्ट्रबैंक गुहारेको थियो । सिर्जना फाइनान्सले दिएको निवेदनको आधारमा राष्ट्रबैंकले सो प्राप्ति प्रक्रियालाई दिएको एलओआई ३ महिनाले बढाएर असोजसम्म पुर्याइदिएको हो । 

स्रोतका अनुसार असोज पहिलो सातासम्म एलओआईको अवधि लम्ब्याइएको छ । ‘तर, अहिलेसम्मको अवस्था हेर्दा फेरि पनि कुरा मिल्ने संकेत देखिन्न ।’ सिर्जना फाइनान्सका एक संचालकले भने–‘हामी सहमतिका साथ अगाडि बढ्ने अन्तिम प्रयास गरिरहेका छौं ।’ 

अब एक महिना मात्र समय बाँकी रहेको र सो अवधिसम्ममा कुराहरु मिल्ने अवस्था न्यून रहेको ती संचालकले जानकारी दिए । 

सिर्जना फाइनान्सलाई प्राप्तिको विषयमा सनराइज बैंकको व्यवस्थापन र संचालक समितिबीच केही समयअघि विवाद भएको थियो । विवादकै जड मानिएको सिर्जना फाइनान्सको प्राप्तिलाई भंग गरेरै अगाडि बढ्नुपर्ने केही संचालकको धारणा रहेको स्रोत दाबी गर्छ।