काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएनको २६औं साधारणसभाले सन्तोष मैनालीलाई अध्यक्ष निर्वाचित गरेको छ । २ वर्षे कार्यकाल रहने मैनाली नेतृत्वका आगामी प्राथमिकता र योजनाका विषयमा बिजशालाले गरेको कुराकानीको सम्पादित अंश:

तपाईँ र नयाँ टिमलाई बधाई छ । निर्विरोध निर्वाचित हुनुभयो, अब सेयर बजारले तपाई नेतृत्वको टिमबाट कस्तो आशा राख्न सक्छ ?
धन्यवाद । सेयर बजारमा गर्नुपर्ने धेरै कुराहरु छन्, जुन आगामी दिनमा नियामक निकाय, लगानीकर्ता र मिडियासँग सहकार्य गर्दै अघि बढ्ने हाम्रो तयारी हो ।

नवीनतम प्रविधिलाई आत्मसाथ गर्र्दै दोस्रो बजारको सञ्जाल व्यापक बनाउन मेरो विशेष जोड रहनेछ । टीएमएसलाई जोखिमरहित बनाउने र समयसापेक्ष अपग्रेडका लागि पनि प्रयास गर्नेछु । कारोबार र राफसाफमा निहित केही जोखिम न्यूनीकरण गर्दै ढुक्कसँग सेयर कारोबार गर्ने वातावरण निर्माणका लागि मेरो प्रयासहरु रहनेछ ।

पूँजीबजार प्रविधिमैत्री बन्दै जाँदा बजारको आकार पनि दिनानुदिन विस्तार र विकास हुँदैछ । तपाईँको विचारमा अब ब्रोकरहरुको चाहिँ कस्तो विकास हुनुपर्छ जस्तो लाग्छ ?
अवश्य पनि । स्टक ब्रोकरहरुको पनि क्षमता अभिवृद्धि हुन आवश्यक छ । मार्जिन ट्रेडिङलाई चुस्तदुरुस्त बनाउने र ब्रोकरेज व्यवसायको दायरा थप गर्दै नियामकसँग सहकार्य गर्न जरुरी छ । इण्डष्ट्रीभित्र पनि ब्रोकरहरुको आन्तरिक क्षमता अभिवृद्धि गर्दै लगानीकर्ता सचेतनामा पनि जोड दिइनुपर्छ।

ब्रोकर्स एसोसिएसनमा निर्वाचित भएपछि अब ब्रोकरहरुका लागि निकै चूनौती बनेको बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स र ब्रोकर कमिसन कटौतीका विषयमा चाहिँ तपाईँको धारणा कस्तो छ ?
बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स धेरै अगाडिको मुद्धा हो । यो मुद्धाले निश्कर्ष पाउनुपर्छ, यसमा नियामकको सर्वाधिकार रहने गर्दछ । यसमा हामीले कुनै विरोध गर्नु न्यायसँगत ठहर्दैन। 

मोफसलमा रहेका ब्रोकरेज सेवाको अत्यधिक लागत बढेको छ । हाम्रो व्यवसाय विस्तार कम हुनु र लागत बढ्दा हामीलाई पनि अप्ठ्यारो परेको छ । शाखाहरु न्यूनतम मापदण्डमा सञ्चालन गर्न पाए केही राहत हुन्थ्यो ।

बाहिर भनेजस्तो ब्रोकर कमिसन महँगो भन्ने कुरामा चाहिँ पर्याप्त बहस र विश्लेषणको आवश्यकता छ । बिदेशी मुलुकको बजारको आकार र ब्रोकरको कार्यक्षेत्र लगायत अन्य लागत(अदृष्य लागत)लगायतका विषयमा रिभ्यू हुनुपर्छ जस्तो मलाई लाग्छ । प्रविधिले लागत घटाएजस्तो देखिएतापनि एकचोटि छलफल गरेर विश्लेषण गर्न म जरुरी ठान्दछु । यद्यपि ब्रोकर कमिसन सेबोनले घटाउन उचित ठहरे हाम्रो कुनै अब्जेक्सन रहँदैन ।

सेयर बजारको विकास तथा विस्तार अनि थप तरलता सिर्जना गर्न के गर्नुपर्ला ?
हामीकहाँ अझै पनि कारोबार र राफसाफका लागि पूर्ण प्रविधि छैन । अक्सन मार्केटको आवश्यकता त्यति नै छ । यस्तै बजारमा तरलता प्रदान गर्न सर्टसेल र इन्ट्राडे कारोबारको व्यवस्था भएमा बिदेशी लगानीकर्ता आकर्षित गर्न सकिन्छ । 

सेयर बजारमा अझै गर्न सकेको खण्डमा धेरै सम्भावनाहरु छन् । कुल बजार पूँजीकरणको केबल २–३ प्रतिशतमात्र टर्नओभर हुँदा तरलताको खाँचो पनि रहेको देखिन्छ भने बण्ड मार्केटमा पनि तरलता ल्याउन थप चलायमान बनाउनुपर्छ ।

पछिल्लो समय बढ्दो बजारमा बैदेशिक रोजगारीमा गएका नेपालीहरु पनि सेयर खरिदबिक्री गर्न निकै उत्साहित देखिन्छन् । ब्रोकरकहाँ स्वयम् उपस्थित भई कारोबार खाता खोल्ने व्यवस्था रहेकाले ती व्यक्तिहरुलाई सेयर बजारमा प्रवेश गराउन नसक्दा ठूलो अवसर गुमाएका छैनौं?
सेयर बजारमा मात्र हैन कि समग्र वित्तीय क्षेत्रमा सेन्ट्रल केवाइसीको व्यवस्थाले आगामी दिनमा केही सहज बनाइदेला । तर, अहिले हामी कानूनी अड्चनका कारणसमेत बिदेशका नेपालीहरुको कारोबार खाता(केवाइसी) खोल्न असमर्थ छौं । सम्पत्ति शुद्धिकरणका कारण नियामकले ब्रोकरको रोहबरमा स्वयम् उपस्थित भएका व्यक्तिलाई मात्र कारोबार खाता खोल्न पाउने व्यवस्था गरेपछि केही असहज भएको पक्कै छ । यसको समाधानार्थ कानूनमा परिमार्जन हुनुपर्छ । वास्तविक व्यक्तिले आफ्नो सक्कल नागरिकता बोकेको तस्वीरसहितको फोटो वा २० सेकेण्ड जतिको भिडियो क्लिप राखेर अनि कारोबारयोग्य भएको पहिचान गर्ने व्यवस्था भएमा तपाईँले भनेजस्तो बिदेशबाट समेत ठूलो सहभागिता बढाउन सकिन्छ ।