काठमाण्डौ। चीन यो वर्षको अन्त्यसम्म कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक उपयोगमा आउने दाबी गरेको छ।

चिनियाँ मिडियाहरुका अनुसार चीनको राष्ट्रिय फार्मास्युटिकल ग्रुप (सिनोफार्मा) द्वारा विकसित कोरोनाविरुद्धको एउटा भ्याक्सिन यो वर्षको अन्त्यसम्म सार्वजनिक उपयोगमा ल्याउने हिसाबले तयार हुन सक्छ। यसअघि यो भ्याक्सिन सन् २०२१ सम्म उपलब्ध हुने दाबी गरिएको थियो। 

सिनोफार्माका अध्यक्ष लियू जिंगजेनले अबको तीन महिनाभित्र यो भ्याक्सिनको मानिसमा गरिने अन्तिम परीक्षण पूरा हुने दाबी गरेका छन्। यसअघि सिनोफार्माको एउटा युनिट चाइना नेसनल बायोटेक ग्रुपले गत जुन महिनामा यो भ्याक्सिन कम से कम सन् २०२१ सम्ममात्र तयार हुने जनाएको छ। ‘अहिले चीनमा कोरोना संक्रमितको संख्या निकै घटेको छ’, ग्रुपले भनेको थियो, ‘त्यसैले यो भ्याक्सिनको परीक्षण गर्न समस्या भइरहेको छ।’

तर चीनले यो भ्याक्सिन परीक्षणका लागि विदेशमा वैकल्पिक स्थान पहिचान गरिसकेको र यो वर्षको अन्त्यसम्म सार्वजनिक उपयोग ल्याउने दाबी गरिएको छ। सिनोफार्माले यो भ्याक्सिनको मानिसमा परीक्षणको तेस्रो चरण तथा अन्तिम चरणमा पुगेको जनाएको छ। 

यो अन्तिम परीक्षण साउदी अरबका १५ हजार मानिसमा भइरहेको सिनोफार्माले दाबी गरेको छ। यसका साथै अर्को एउटा भ्याक्सिनको अन्तिम परीक्षण पनि ब्राजिलमा भइरहेको चिनियाँ अधिकारीहरुले जनाएका छन्। – एजेन्सी