काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विभिन्न भुक्तान सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा गर्नका लागी नेपाल क्लियरिङ हाउस लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच एनपीआईमा आबद्ध हुने सम्झौता भएको छ।

सम्झौतापत्रमा सन नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

यस सम्झौताअन्तर्गत सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी उपलब्ध विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा खर्चको कारोबारहरु स्वचालित रुपमा गर्न सक्नेछन्। एनपीआईमा जोडिएपछि सन नेपाल लाइफका सम्पूर्ण भुक्तानीहरु पूर्णस्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ।

उक्त प्रणालीमार्फत सन नेपाल लाइफले आफ्नो बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानीलगायत आफ्ना लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछन्। यसले लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नुपर्ने वा चेक लिनुपर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक वित्तीय संस्थाको खातामा प्राप्त गर्न सक्नेछन्। 

यसका साथै सन नेपाल लाइफले आफ्ना विभिन्न खाताहरुमा रहेको रकमलाई समेत सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्याउने छ। सन नेपाल लाइफका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइनमार्फत कनेक्ट आईपीएसबाट, बैंक शाखाहरुबाट वा सदस्य बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानलमार्फत सजिलै तिर्न सक्नेछन्। यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन्। 

सन नेपाल लाइफलगायत ८ जीवन बीमा कम्पनीहरु यसअघि नै एनपीआईमा आबद्ध रहेका छन् भने ३० भन्दा बढी जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शुल्क अनलाइनमार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन्। 

यसका साथै एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई सञ्चालनमा रहेको छ। जसमा हाल ६० सदस्य बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपी, पीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ६८ गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट तथा प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।

सन नेपाल लाइफ इन्स्योरेन्सले छोटो समयमै देशमा भरपर्दो र व्यावसायिक बीमा प्रदायकको रूपमा आफूलाई स्थापित गरेको छ। आफ्नो बलियो भिजनका साथ यसले देश भरी १६९ उपशाखासहित २१ वटा शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। यसका साथै एनसीएचएलसँगको यस साझेदारीले बीमासम्बन्धी डिजिटल सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ।