काठमाण्डौ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको छ। योसँगै विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइतबार पनि बैंकिङ सेवा प्रदान गर्ने निर्णय गरेको छ। 

यसअन्तर्गत हाल बैंकले प्रदेश नं. १ मा रहेका आफ्ना ३५ शाखाहरुमध्ये १३ शाखा (मेनरोड विराटनगर, टंकीसुनवरी, इलाम, रंगेली, उर्लावारी, बिराटचोक, विर्तामोड, इटहरी, धरान, धनकुटा, बसन्तपुर, दमक र पुष्पलालचोक) बाट यही जेठ १ गतेदेखि नै सेवा प्रदान गर्नेछ र आगामी दिनमा बजारको आवश्यकता र गा्रहकको मागबमोजिम आइतबार सञ्चालन हुने शाखा संख्या बढाउँदै लैजाने नीति बैंकले लिएको छ। 

आइतबार सञ्चालन हुने शाखाहरुमा बैंकले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गर्नेछ। 

बैंकको यस थप सेवाले ग्राहकमा सुविधा पुग्न जाने र आइतबार सञ्चालन हुने बजारलाई केही हदसम्म भए पनि बैंकिङ आवश्यकताको परिपूर्ति हुने र बैंकको यस प्रकारको सेवाले बैंक र जनताबीचको सम्बन्ध र विश्वास अझ प्रगाढ हुँदै जाने तथा व्यवसाय विस्तारमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।