काठमाण्डौ । चीनको अर्थतन्त्रले मन्दीको सामना गरिरहेको छ। अब चीनको खस्किँदो अर्थतन्त्रको चपेटामा ठूला कम्पनी आउन थालेका छन्। 

हालै चीनको सबैभन्दा ठूलो रियल स्टेट कम्पनी एभरग्रान्ड समूहले आफू टाँट पल्टेको घोषणा गरेको थियो। कम्पनीको यो घोषणापछि पनि अमेरिकामा हलचल मच्चिएको छ। किनकि यो ग्रुपले च्याप्टर–१५अन्तर्गत न्युयोर्कको अदालतमा टाँट पल्टिनबाट जोगाइदिन निवेदन दिएको छ। 

पछिल्लो ६ महिनामा एभरग्रान्डी समूहको ४.५ अर्ब डलर स्वाहा भएको छ। कम्पनीको २ वर्षमा ५८२ अर्ब युआन डुबेको छ। भारी ऋणको बोझले दबिएको यो कम्पनीसँग ३३० अर्ब डलरभन्दा बढी ऋण छ। 

अर्कोतर्फ चीनको रियल स्टेट बजारको अवस्था नाजुक छ। किनकि धेरै कम्पनीले आफ्नो परियोजना पूरा गरिसकेका छन् तर खरिदकर्ता पाएका छैनन्।

केही समयअघि चीनको अर्का रियल इस्टेट कम्पनी कन्ट्री गार्डेनले पहिलो ६ महिनामा ७.६ अर्ब डलरसम्मको ठूलो नोक्सानी व्यहोरेको जनाएको थियो।

चीनको कुल गार्हस्थ उत्पादनको ३० प्रतिशत हिस्सा रियर स्टेट सेक्टरले मात्र ओगट्छ। यस्तो अवस्थामा एभरग्रान्डजस्ता विशाल कम्पनी डुब्नुले चीनको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ। किनकि यसले चीनको सम्पूर्ण रियल स्टेट क्षेत्रलाई असर गरेको छ। 

कोभिडपछि चीन अर्थतन्त्रमा संघर्ष गरिरहेको छ। चीनको जीडीपी दरको वृद्धि अनुमानभन्दा कम लगातार रेकर्ड भइरहेको छ। चीनमा बेरोजगारी दरले रेकर्ड कायम गरेको छ। यस्तो अवस्थामा रियल स्टेट क्षेत्रको निरन्तर असफलताले समस्या सिर्जना गरिरहेको छ। किनकि यसको प्रभाव अहिले अन्य क्षेत्रमा पनि देखिन थालेको छ। –एजेन्सी