काठमाण्डौ । सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण पुष्टि भएको नयाँ भेरिएन्टको कोरोना भाइरस नेपालमा समेत फेला परेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा यस्तो खालको कोभिड १९ को नयाँ भेरिएन्ट फेला परेको एक विज्ञप्ति जारी गरी जनाएको हो।

मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार गत हप्ता देशका विभिन्न भागबाट संकलित ३५ नमुनाको परीक्षण गर्दा नयाँ भेरिएन्ट नेपालमा समेत फैलिएको पत्ता लागेको हो ।

ती नमूनाहरुको विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । 

योसँगै हालसम्म नेपालमा कोभिड १९ का तीनवटा भेरिएन्ट रहेको पुष्टि भएको मन्त्रालयले प्रष्ट पारेको छ । 

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी 'भेरियन्ट अफ कन्सर्न' भनेको थियो । यो नयाँ भेरिएन्टले सबै उमेर समूहलाई प्रभाव पार्नसक्ने र यसको संक्रमण हुने तीव्रता उच्च रहेको र निकै जोखिमपूर्ण अवस्था समेत ल्याउनसक्ने भनी विश्व स्वास्थ्य संगठनको अध्ययनमा पत्ता लागेका तथ्यहरु यसअघि नै सार्वजनिक भइसकेका छन् ।