काठमाण्डौ । उपत्यकाका मेयरहरुले कोरोना संक्रमण तीव्र भएको भन्दै जनचाहनाविपरीत तीन साता लामो कडा लकडाउनको निर्णय हुनुपर्ने माग गरिरहँदा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भने सबै देशहरुमा उडान अनुमति दिने निर्णय गरेको छ । 

मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको हो । 

यो निर्णयपछि अहिले उडानका लागि स्वीकृति पाएकाबाहेकका अन्य मुलुकमा पनि आवश्यकताअनुसार उडान हुन सक्नेछ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईँका अनुसार संक्रमणको जोखिम मूल्याङ्कन गरी अन्य मुकुलमा पनि आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिने प्रस्ताव ल्याएपछि सोहीअनुसार निर्णय भएको हो । 

विभिन्न सरकारी कार्यालयहरुमा एक दुई जनामा संक्रमण पोजेटिभ देखिनेबित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृति बढेकाले त्यस्तो नगर्न पनि सीसीएमसीले निर्देशन दिएको छ ।  

संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको गुरागाईंले बताए । 

संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा के कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।  

संक्रमणको उच्च रहेको सिमित स्थानलाई सिल गरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईंले बताए । तर, काठमाण्डौमा कडा लकडाउन वा निषेधाज्ञा लगाउने विषयमा भने कुनै निर्णय नभएको उनले जानकारी दिए ।