काठमाण्डौ । विगतका त्रैमास झै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समेत मुक्तिनाथ विकास बैंकले अस्तित्वमा रहेका राष्ट्रिय स्तरका विकास बैंकहरुलाई फराकिलो अन्तरले पछि पार्दै अधिकांश सूचकमा पहिलो स्थान बनाएको छ । 

मुक्तिनाथ विकास बैंकको खूद नाफा, प्रतिसेयर आम्दानी, खूद ब्याज आम्दानी, निक्षेप तथा कर्जा लगानी लगायतका महत्वपूर्ण सूचक प्रतिस्पर्धी बैंकको तुलनामा निकै राम्रो देखिएको हो । 

मुक्तिनाथले विगत केही वर्षदेखि नै लगातार पहिलो स्थान बनाउँदै आएको छ । गत आर्थिक वर्षमा समेत यो बैंकले विकास बैंकहरुमाझ पहिलो र लोभलाग्दो स्थान बनाएको थियो । 

बैंकको लोभलाग्दो प्रगति पहिलो त्रैमासमा पनि अझ निखारिएर कायमै रहेको देखिएको हो । 

खूद नाफातर्फ यो बैंकले वाणिज्य बैंक जस्तै प्रगति गरेको देखिएको छ । पहिलो त्रैमासमा मुक्तिनाथले २० करोड ४ लाख खूद नाफा आर्जन गरेको हो । 

कैलाश विकास बैंक ११ करोड ५८ लाख नाफा कमाएर दोश्रो स्थानमा रहेको छ भने १० करोड ५६ लाख खूद नाफा कमाएर महालक्ष्मी विकास बैंक तेश्रो स्थानमा रहेको छ । १० करोड २८ लाख नाफा आर्जन गरेर गण्डकी विकास बैंकले तेश्रो स्थानका लागि महालक्ष्मीलाई टक्कर दिइरहेको देखिएको छ भने टप पाँचमा पर्न सफल गरिमा विकास बैंकले ९ करोड १९ लाख खूद नाफा आर्जन गरेको छ । 

नाफामा अन्य बैंकभन्दा फराकिलो अन्तरले प्रगति गर्दै अगाडि बढेको मुक्तिनाथ विकास बैंक वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि आकर्षक कम्पनी बनेको छ । यो कम्पनीको पहिलो त्रैमासको प्रतिसेयर आम्दानी ३०.९३ रुपैयाँ कायम भएको हो । 

कैलाश विकास बैंक इपीएसमा १८.३८ रुपैयाँ कायम गर्दै दोश्रो, गण्डकी विकास बैंक १४.९५ रुपैयाँ आर्जन गर्दै तेश्रो, लुम्बिनी विकास बैंक १४.९३ रुपैयाँ इपीएस कायम गर्दै चौथो र महालक्ष्मी विकास बैंक १४.८५ रुपैयाँसहित पाँचौ स्थानमा छन् । 

व्यवसाय बिस्तारमा आक्रामक भएका कारण मुक्तिनाथ विकास बैंकको खूद ब्याज आम्दानी पनि निकै आकर्षक देखिएको छ । यो बैंकले पहिलो त्रैमासमा ४२ करोड ५८ लाख खूद ब्याज आम्दानी आर्जन गरी पहिलो स्थानमै रहेको छ । 

खूद ब्याज आम्दानीमा ३० करोड ३ लाख आर्जन गर्दै गरिमा विकास बैंक दोश्रो, २६ करोड ७० लाख आर्जन गर्दै कैलाश तेश्रो, २४ करोड ६७ लाख आर्जन गर्दै महालक्ष्मी विकास बैंक चौथो र २४ करोड ५९ लाख आर्जन गर्दै ओम डेभलपमेन्ट बैंक पाँचौ स्थानमा रहेका छन् । 

मुक्तिनाथ विकास बैंक निक्षेप संकलनमा पनि एक नम्बर विकास बैंक बन्न सफल भएको छ । समीक्षा अवधिमा यो बैंकले ३३ अर्ब २६ करोड निक्षेप संकलन गरी २८ अर्ब ८५ करोड कर्जा परिचालन गरेको हो । 

निक्षेप संकलनमा महालक्ष्मी विकास बैंक २६ अर्ब ६९ करोडसहित दोश्रो स्थानमा छ । उसले २२ अर्ब ८४ करोड कर्जा परिचालन गरेको छ । 

कैलाश विकास बैंकले यो अवधिमा २४ अर्ब २६ करोड निक्षेप संकलन गरी २० अर्ब ९३ करोड कर्जा परिचालन गरेको छ । 

गण्डकी विकास बैंकले २३ अर्ब ७२ करोड निक्षेप संकलन गरी २१ अर्ब २४ करोड कर्जा परिचालन गरेको छ ।