काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफा ४९.१५ प्रतिशतले बढोत्तरी गर्न सफल भएको छ । 

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ५ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा १ करोड ५७ लाख रुपैयाँको छलाङ मार्न सफल भएको छ । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी १५ करोड ७२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष ११ करोड ३५ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारले आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा ९ करोड ३८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ६ करोड २९ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ९९ लाख ८७ हजार रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ३० लाख ६६ हजार रुपैयाँ थियो। 

यस अवधिमा संस्थाले ६० करोड २४ लाख रुपैयाँ सापटी लिई १ अर्ब ५८ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ७८ करोड ८६ लाख रुपैयाँ सापटी लिई १ अर्ब ५४ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी १७ करोड रुपैयाँ थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा १५.०८ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ९ करोड १३ लाख रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर १० करोड ५१ लाख रुपैयाँ भएको छ । 

संस्थाको प्रतिसेयर आम्दानी २८.४३ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १७.९४ गुणा, प्रतिसेयर नेटवर्थ १५०.०७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८८३.४७ रुपैयाँ रहेको छ ।