काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

कारोबारको क्रममा नेप्से २०२८ विन्दूमा पुगे पनि बन्द हुँदासम्म केही घटेर २८.७९ अंकको बढोत्तरीसहित १९९७.०६ विन्दू कायम भएको हो । 

आज नेप्सेमा करिब ९ अर्ब बराबरको सेयर किनबेच भयो। 

विगत लामोसमयदेखि सेयर लगानीमा घाटा बेहोरेका कतिपय लगानीकर्ताहरुले सेयर बिक्री गरे पनि बजार बढ्ने बलियो मनोबलकै कारण नयाँ लगानीकर्ता तथा संस्थागत लगानीकर्ताहरुले खरीदतर्फको चाप बढाउँदा बजारले करेक्सनको बाटो लिएन । धेरै लगानीकर्ताले प्रफिट बुक गर्दा समेत बजारमा करेक्सन नआउनुले सुखद भविष्यको संकेत गर्ने जानकार बताउँछन् । 

आज दिनभरिको कारोबारको प्रकृतिलाई अध्ययन गर्दा इन्ट्रा डे करेक्सन आएको र यसले समेत बजार वृद्धिलाई थप टेवा दिने विश्लेषकहरु जिकिर गर्छन् । एकैदिन भारी अंकले उत्तारचढाव हुँदा कतिपय कम्पनीका सेयरहरुमा करेक्सन आउँदा खरिदबिक्री दुवैको अवसर प्राप्त भएको थियो, जसका कारण आगामी दिनमा बजारले अझै सकारात्मक लय समात्ने विश्लेषकहरुको ठहर छ ।

परिसूचक र कारोबार रकमको भोल्युमले समेत बलियो टेवा दिइरहेकाले बजार अझै बढ्ने दाबी गरिएकोछ । विश्लेषकहरुको भनाईमा बजारमा हँग्री इन्भेष्टरहरुको बाहुल्यता भएकाले आपूर्तिभन्दा माग पक्ष बलियो भएको र सूचक अझैं माथि जाने अपेक्षा बमोजिम नै लगानीकर्ताहरुले लगानीको स्रोत बढाइरहेका र बजार बढेको हो । 

लामो समयपछि बढेको बैंकिङ समूहमा भने यो दिन झिनो करेक्सन आयो । सेयरको अधिक आपूर्ति रहेको यो क्षेत्रमा लगानी गर्नेहरु उति स्थिर नहुँदा यस्तो अवस्था देखिएको हो । बजार जानकार तथा विश्लेषकहरुले दिगो बुलका लागि बैंकिङ समूहका लगानीकर्ता पनि धैर्यवान बन्न सक्नुपर्ने सुझाउँछन् । 

पछिल्ला केही दिनको बजारको अवस्थालाई विश्लेषण गर्दा समग्र बजार इण्डेक्समा भन्दा पनि समूहगत इण्डेक्समा मात्र करेक्सन देखिन थालेको छ । कतिपयल नेप्से इण्डेक्समा करेक्सन नआउने, बरु समूहगत इण्डेक्समा मात्र करेक्सन आउँदै बजार अगाडि बढ्ने यसअघि नै प्रक्षेपण गरिसकेका छन् । बजारको प्रवृति उनीहरुको प्रक्षेपणसँग मिल्दोजुल्दो छ । 

यो दिन बजारमा पुनः २ वटा नयाँ कीर्तिमान बने । नेप्से परिसूचक हालसम्मकै उच्च विन्दूमा पुगेर एउटा कीर्तिमान बन्यो भने हालसम्मकै सबैभन्दा बढी ८३ हजार ५०० वटाभन्दा बढी कारोबारका अर्को रेकर्ड समेत बन्यो । 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ।

यो दिन जीवन बीमा समूह सर्वाधिक ८२३.३५ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह १९३.०४ अंकले बढेको यो दिन व्यापार समूहमा १५१.०७ अंक, होटेल्स् समूहमा ४.९६ अंक, जलविद्युत् समूहमा ८९.२३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७३.६३ अंक, अन्य समूहमा ४०.२८ अंक र घलुवित्त समूहमा ३७.६ अंकको बढोत्तरी भएको छ।

यो दिन विकास बैंक समूह सबैभन्दा धेरै ४८.१४ अंकले ओरालो लागेको छ। बैंकिङ समूह ७.३८ अंकले घटेको आज वित्त समूहमा ५.४१ अंक र म्युचुअल फन्ड समूहमा ०.१३ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनी

आज नेप्सेमा सूचीकृतमध्ये १९८ कम्पनीका २ करोड ५१ लाख ९१ हजार ३१९ कित्ता सेयर ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ३८ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड ३४ लाख रुपैयाँबराबरको कारोबार भएको आज प्रभु बैंकको ३६ करोड ७१ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको ३३ करोड ३३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको २७ करोड २ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको २४ करोड ८६ लाख रुपैयाँ, नेपाल बैंकको २४ करोड ६० लाख रुपैयाँ, नबिल बैंकको २२ करोड ९७ लाख रुपैयाँ, एनएमबी बैंकको २२ करोड ५४ लाख रुपैयाँ र कुमारी बैंकको २२ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत र अप्पर तामाकोशी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, सेन्जेन जलविद्युत् कम्पनी तथा रसुवागढी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। यो दिन नेपाल लाइफ इन्स्योरेन्स, साल्ट ट्रेडिङ र एनसीसी बैंकको सेयरमूल्य पनि ९ प्रतिशत बढीले बढेको छ।

यो दिन विशाल बजार कम्पनीका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।