काठमाण्डौ । हकप्रद जारी विशेष प्रस्तावसहित समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २७ गते मंगलबार आयोजना गर्ने निर्णय गरेको हो। सभा मकवानपुरको हेटौँडास्थित होटेल सामनामा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सुरु हुनेछ। 

सभाले हाल कायम चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। जुन रु. १०० अंकित दरका २७ लाख २९ हजार ७०५ कित्ता हुनेछ।

यसैगरी सभाले अन्य कुनै वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति प्रक्रियाका सम्पूर्ण कार्य गर्न गराउन पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

यहीबाहेक सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेज तथा बुँदाहरु छलफल गरी पारित हुनेछन्। 

सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २१ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्।