काठमाण्डौ । बजारका लगातारको गिरावटबाट प्रताडित सेयर लगानीकर्ताहरुले समेत यो पटकको दशैं हर्षोल्लासका साथ मनाएका छन् । 

सेयर बजारको लगातारको गिरावटले सम्पत्ति घटेका पीरलाई पर सारेर उनीहरुले सदियौंदेखि चलिआएको परम्परालाई निरन्तरता दिंदै दशैं  मनाए । 

हामीले यो क्रममा केही सीमित सेयर लगानीकर्ताको दशैं अनुभव बुझ्ने कोशिश गरेका छौ । 

हरि ढकाल
चितवन रत्ननगर घर भएका सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल काठमाण्डौ पेप्सीकोलामा बसोबास गर्दै आएका छन् ।

दशैं भन्नेबित्तिकै अध्यक्ष ढकाल बाल्यपनको झझल्को आउने बताउँछन् । सहनाईको धून र असोजको पारिलो घामलाई दशैंका रुपमा स्मरण गर्ने उनी शाकाहारी हुन् ।

वि.सं.२०५६ सालअघि अर्थात् एसएलसीअघि दशैंमा औधी रमाइलो गरेको स्मरण गर्दै ढकालले साथीभाइसँग घुमेका र तास पनि खेलिएको अनुभव हामीसामु साटे ।

सदाझैं यसपाला पनि दशैंमा गाउँ जाने र आन्तरिक भ्रमणका लागि १–२ ठाउँ निस्कने योजना रहेको ढकालको भनाइ छ । दशैंकै बेलामा ५–७ वटा किताब किनेर अध्ययन गर्ने सोच बनाएको सुनाए ।

९९ वर्षीय मावली हजुरबुवा र ८९ वर्षीय कान्छा हजुृरबुवा हजुरआमाबाट दशैंको टीका थाप्ने र ससुराली पनि टीका आशीर्वाद ग्रहण गर्ने ढकाल सुनाउँछन् ।

दशैं जस्तो सांस्कृतिक चाडमा जुवातास नखेल्न र फजूल खर्च नगर्न आग्रह गर्दै ढकाल भन्छन्–‘नयाँपुस्तालाई पनि दशैंको गरिमा र महत्व अनि पुस्ता हस्तान्तरणमा सजग हुनुपर्छ ।’

नवराज उप्रेती
चितवन पर्साका सेयर लगानीकर्ता नवराज उप्रती काठमाण्डौ नयाँ बानेश्वरका बासिन्दा हुन् । 

हिन्दूहरुको सबैभन्दा ठूलो पर्वका रुपमा दशैंलाई ठान्ने उप्रेती दशैंमा पारिवारिक भेटघाट र रमाइलो गरेर दशैं भित्र्याउने सोंचमा छन् । एकताको सूत्रमा बाँध्ने चाँड दशैं नै भएको जिकिर गर्दै उप्रतीले सानो छँदा पिङ खेलेको, नयाँ लुगा लगाएको संस्मरणहरु ताजै रहेको बताए ।

८० वर्षीय आमा भगवती उप्रेतीबाट दशैंमा टीकाजमरा थाप्ने उप्रेतीले यो पटक काठमाण्डौंमै दशैं मनाएका छन् । गाउँमा अहिले कोही पनि नभएकोले समेत दशैं काठमाण्डौंमा नै मनाउने उनको भनाइ छ । 

दश वर्षअघि अमेरिकामा हुँदा उप्रेतीले परिवारलाई धेरै मिस गरेको सम्झे अनि भने–‘तर त्यहाँ नेपाली सेलिब्रेटीसँग दशैं मनाउन पाउँदा खूब रमाइलो भएको थियो ।’

दशैंमा घोर्ले खसी काटेका उनले फाट्टफुट्ट मद्यपान पनि गर्ने उनले दशैं झक्कास गरी मनाएको बताउँछन् । 

दशैंमा देवीदेवताका मन्दिर गई पूजा पनि धूमधामका साथ गरिएको उप्रेतीले सुनाए ।

अमन बलामी
सानो उमेरमै सेयरबजारमा होमिएका अमन बलामी यसपालिकाको दसैँ योजना निकै रोमाञ्चक छ । 

१६ वर्षकै उमेरदेखि सेयर बजारमा सक्रिय लगानीकर्ताका रुपमा उदायका बलामी दसैँको बिदामा सेयरबजारकै बारेमा नयाँ रिसर्चदेखि दक्षिणाबाट प्राप्त रकम आईपीओमा लगाउने योजना बुनिरहेका छन् । दसैँ बिदामा बाइकमा लङ ड्राइभ गर्ने योजनामा रहेका बलामी निकै उत्साहित छन् ।

हेटौंडा कुलेखानी घर भएका बलामी हाल काठमाण्डौं बुद्धनगरमा बसोबास गर्छन् । सानो उमेरमै सेयरबजारमा होमिएका बलामी अमेरिकाको भिसा नै त्यागेर नेपालमै केही गर्ने अठोट राख्छन् । 

दसैं भन्नेबित्तिकै आफन्त परिवारको जमघट सम्झने बलामी पोहोरको दसैं भने निकै रमाइलो भएको सुनाउँछन् । गत वर्ष उनका बुवा बिदेशबाट घर आएकाले समेत रमाइलो गरी दसैं मनाइएको उनी सम्झन्छन् । दसैंका बेलामा सेयर बजारकै बारेमा नयाँ रिसर्च गर्ने चाहना पालेका उनले सेयर लगानीकर्ताको जीवनी पढ्ने योजना सुनाए । मांशाहारी भोजन गर्ने बलामी मद्यपानबाट भने टाढै बस्छन् । दसैँमा आफन्तजनसँगको भेटघाट र मीठा परिकार खाएर रमाइलो गर्ने योजना रहेको बलामीको भनाइ छ ।

दुर्गामाताको भक्तिभावसहित आफ्नी ७१ वर्षीय हजुरआमाको बाहुलीबाट टीका आशीर्वाद थाप्न गइरहेका बलामी दसैंमा मामाघर र पोखरा भ्रमण जाने सुरमा छन् । खसी काट्ने योजनामा रहेका बलामी आफन्तबाट करिब ५ हजार दक्षिणा भेला हुने अनुमान राख्छन् । काठमाण्डौनजिकै बाइकराइड गर्ने पनि उनको इच्छा छ, यसपालिको दसैंमा ।

दसैंताकामै बलामी सानो छँदा कुलेखानीमा पौडी खेलेको सदा झलझली आउने बताउँछन् । 

दसैंमा प्राप्त दक्षिणा आईपीओमा लगानी गर्न उनका उमेरका व्यक्तिहरुलाई बलामी आग्रह गर्छन् । थोरै कित्ता भए पनि दोस्रो बजारमा दक्षिणाको पैसाले लगानी गर्न उनले युवाहरुलाई अनुरोधसमेत गरे ।