काठमाण्डौ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कफ्र्यू लगाउने कुनै तयारी नभएको भन्दै अफवाहको पछि नलाग्न आह्वान गरेका छन् । 

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकपछि केहीबेरअघि संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आह्वान गरेका हुन् । 

उनले अनावश्यक ढंगले जनतालाई दुःख दिन नहुने र अहिले कफ्र्यू नै लगाउने अवस्था नरहेको जिकिर गरेका हुन् । 

भीडभाड बढी हुँदा कोरोना संक्रमण र फैलावटको जोखिम हुने भएकोले त्यसलाई नियन्त्रण गर्न मात्रै सरकारले एकहप्ते पूर्ण लकडाउन लगाएको भन्दै अवस्था हल्ला फैलाइएजस्तो जटिल नरहेको दाबी समेत गरे । 

‘जनतालाई सुरक्षित राख्न लकडाउन गरेको हो, अनावश्यक दुःख दिनका लागि कफ्र्यू लगाउने अवस्था छैन । उनले भने । 

अर्थमन्त्री समेत रहेका डा. खतिवडाले सरकारले कोरोना संक्रमणको उपचारमा चाहिने र स्थानीय बजारमा उपलब्ध नभएका स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । 

उनका अुनसार  निश्चित दिनभित्र त्यस्ता उपकरण ल्याउन सक्नेहरुसँग समन्वय गरेर आपूर्ति सहज बनाउने निर्णय भएको हो । सरकारले भने आफ्नो प्रक्रियाबाट त्यस्ता उपकरण ल्याउन केही दिन लाग्ने उनको प्रष्टोक्ति छ ।