काठमाण्डौ । विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट तयार गरिएका क्वारेन्टाइनमा बसेकाहरु आफूखुशी बाहिर निस्किएका गुनासा आएका भन्दै सरकारले त्यसमा कडाई गर्न निर्देशन दिएको छ। 

स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । 

कोभिड १९ संक्रमणको रोकथाम र नियन्त्रण अभियानमा सर्वसाधारणको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयले कल सेन्टरको स्थापना गरेको थियो । कल सेन्टरमा पछिल्लो २४ घण्टामा ६ हजार २०० बढीको कल आएको र तीमध्ये अधिकांश गुनासा क्वारेन्टाइनमा बसेका मानिसहरु मनपरी बाहिर डूलिरहेका भन्ने रहेको उनले जानकारी दिए। 

सम्बन्धित निकायहरुलाई यो विषयमा सचेत गराइसकिएको र क्वारेन्टाइनमा बस्नेहरुलाई समेत कडा स्वअनुशासनमा बसिदिन उनले आग्रह गरे ।

त्यसरी क्वारेन्टाइनमा बस्नेहरुमध्ये न्यून संख्याका व्यक्तिलाई सामान्य रुघाखोकी र ज्वरो आए पनि बाँकीको अवस्था सामान्य रहेको उनको भनाई छ । 

प्रवक्ता डा. देवकोटाले हालसम्म नेपालमा कोरोना संक्रमणको आशंकामा ८०२ को स्वास्थ्य परीक्षण भएको र तीमध्ये काठमाण्डौका विभिन्न अस्पतालमा १५ जना आइसोलेसनमा राखिएको जानकारी दिए। 

कोरोना संक्रमण पुष्टि भएका २ जनालाई टेकू अस्पतालमा आइसोलेसनमा राखिएको र उनीहरुको अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए ।

टेकूमै थप ४ जना पनि आइसोलेसनमा छन् । यस्तै पाटन अस्पालमा ६ र कान्ति बाल अस्पतालमा ३ जना आइसोलेसनमा राखिएका उनले जानकारी दिएका छन् । 

प्रदेशका अस्पतालहरुमा समेत केही मानिस आइसोलेसनमा राखिएका भए पनि त्यसको एकीकृत तथ्यांक आइनसकेको उनले बताए । 

अब धरानमा पनि परीक्षण
प्रवक्ता डा. देवकोटाले कोरोना संक्रमणको परीक्षणको दायरा बढाउने क्रममा शुक्रबारदेखि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत परीक्षणको काम सुरु भएको जानकारी दिए । 

पश्चिमी क्षेत्रका केही अस्पतालहरुमा समेत यस्तो सेवा सुचारु गर्न लागिएको उनले जानकारी दिए । 

उनले आउँदो सोमबारसम्म परीक्षणका लागि आवश्य किट र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पीपीई यथेष्ट संख्यामा आइपुग्ने भन्दै हाल उपलब्ध सामाग्री समेत अहिलेको अवस्थालाई पुग्ने नै रहेको दाबी गरे । 

उनले कोरोना संक्रमितको उपचार तथा रोकथाम अभियानमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुको स्वास्थ्य जोखिमको विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै पीपीईबिनै काममा खटिन नभनिएको पनि प्रष्ट पारे । 

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीका सल्लाहकार डा. किरण कार्कीले कोरोना भाइरसको संक्रमण दक्षिण एशियामा न्यून मात्र फैलिएको धेरै अत्तालिने अवस्था नरहेको बताए । भारतमा समेत लकडाउनपछि संक्रमण फैलिने दर निकै घटेको उनको भनाई थियो ।