काठमाण्डौ । नेपाल बीमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाको दायरा र पहुँच विस्तारमा सरकार नै जिम्मेवार नभएको बताएका छन्। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) नवनिर्वाचित कार्यसमिति सदस्यहरुसँग सोमबारको भेटमा अध्यक्ष सिलवालले यस्तो धारणा राखेका हुन्। ‘सरकारले आफ्नो सम्पत्तिकै बीमा गरेको छैन, बीमाको महत्व बुझेर सरकारले नै जोखिम ट्रान्सफर नगरेको अवस्थामा सर्वसाधारणलाई हामीले के उदाहरण दिने?’, उनले भने।

सरकारलाई बीमा क्षेत्रप्रति आफ्नो जिम्मेवारी महसुस गराउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको सिलवालले बताए। ‘त्यसमा आवश्यक समन्वय गर्न प्राधिकरण तयार छ’, उनले भने। 

‘बीमा क्षेत्रको विकास र विस्तारका लागि आर्थिक पत्रकारको भूमिका महत्वपूर्ण रहन्छ’, उनले भने, ‘आगामी दिनमा प्राधिकरणले पत्रकारहरुको क्षमता विकासका लागि वार्षिक कार्यक्रम नै बनाएर कार्यान्वयन गर्नेछ।’

आम जनमानसमा पनि बीमासम्बन्धी सही बुझाइ नहुँदा समस्या बढ्दै गएको सिलवालको भनाइ थियो। सरकारले मोटर बीमा अनिवार्य गरेजस्तै घर तथा सम्पत्ति बीमा पनि अनिवार्य गर्नुपर्ने उनले बताए।

अहिलेसम्म राष्ट्रिय बीमा नीति नै नरहेको भन्दै सिलवाले प्राधिकरणले मस्यौदा गरेर पठाएको राष्ट्रिय बीमा नीति नेपाल सरकारले संशोधनसहित स्वीकृत गरेको भए पनि प्राधिकरणमा नपुगेको बताए। ‘हाल बीमाक्षेत्रमा धेरै परिवर्तन आएका छन्। सरकार, प्रदेश सरकार र स्थानीय सरकारले बीमाका बारेमा बुझ्दै गएका छन्’, उनले भने, ‘राष्ट्रिय बीमा नीति कार्यान्वयनमा आएपछि सरकारका लागि समेत बीमा बाध्यकारी बन्छ। प्रदेश र पालिकाहरुले पनि बीमासम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिनुपर्छ। यसबाट हामी खोजिरहेको गन्तव्यमा पुग्नसक्छौँ।’

प्राधिकरणले बीमा क्षेत्रको लगानी विविधीकरणका लागि निर्देशिकाहरु जारी गरी जलविद्युतलगायत सरकारबाट स्वीकृतिप्राप्त क्षेत्रमा बीमा कम्पनीहरुले लगानी गर्ने बाटो खुलाएको सिलवालले जानकारी दिए।