काठमाण्डौ । सतारुढ नेकपाका २० स्थायी कमिटी सदस्यहरुले पार्टीभित्रै विभाजनको मनोविज्ञान सिर्जना गर्ने तथा राजनीतिक प्रणाली र संविधानको मर्ममै असर पार्ने गरी ल्याइएका दुई अध्यादेश तत्काल फिर्ताको माग गरेका छन् । 

उनीहरुले यी विषयमा गम्भीर छलफल आवश्यक रहेको भन्दै पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डलाई पत्र लेखी तत्काल स्थायी कमिटीको बैठक बोलाउन समेत माग गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनअघि राजनीतिक दल विभाजन सम्बन्धी व्यवस्था संसोधन गरी एउटा र संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षीको भूमिका नचाहिने व्यवस्थासहितका २ अध्यादेश पार्टीमा छलफल नै नगरी ल्याएपछि यसले राष्ट्रिय हित, स्वाधीनात र स्वाभिमानमा आँच पुग्ने भन्दै स्थायी कमिटी सदस्यहरुले दुवै अध्यादेश फिर्ता र बैठकको माग गर्दै पत्र लेखेका हुन् । 

उनीहरुले अध्यादेशमार्फत ल्याइएको प्रावधान विगतमा राजनीतिक दलहरुले गम्भीर छलफल र सहमतिपछि देशमा राजनीतिक स्थायीत्व कायम गरी बाह्य चलखेल रोक्ने र जतिसुकै सानो दललाई पनि राष्ट्रिय दलको मान्यता दिएर पार्टीमा विभाजनको कार्य प्रोत्साहित भई लोकतन्त्र नै कमजोर हुने स्थिति आउन नदिने गरी बनाइएको कानूनको भावना र उद्देश्य विपरीत रहेको ठहर गरेका छन् ।  

‘संवैधानिक परिषदले स्वतन्त्र संरचनाको रुपमा रहेर राष्ट्रिय दृष्टिकोणको साथ काम गर्नुपर्ने संविधानको मर्म र उद्देश्य विपरीत त्यसलाई सरकार अधिनस्थ कार्यालयमा परिणत गर्नसक्ने देखिन्छ ।’ पत्रमा भनिएको छ–‘अध्यादेशले राजनीतिक प्रणाली र संविधानको मर्ममा आघात पुग्ने देखिछ । दल तथा जनतामा आशंका र अन्यौल सिर्जना गराइदिएको छ । यो असामयिक, असान्दिर्भक र अनुपयुक्त छ, तुरुन्त फिर्ता गरियोस् ।’

उनीहरुले पार्टी एकतालाई बलियो बनाउन, पार्टीको एकता र सशक्त भूमिकाका लागि पार्टी पंक्तिलाई आश्वस्त तुल्याउन समेत आग्रह गरेका छन् । 

‘राजनीतिक प्रणाली र संविधानको मर्ममा नै असर पार्ने कानून संसोधन गर्ने अध्यादेशजस्तो संवेदनशील विषयमा पार्टीमा गहन र व्यापक छलफल हुनुपर्छ ।’ पत्रमा भनिएको छ–‘यसका लागि नेकपाको अन्तरिम विधान २०७५ को धारा ५९ बमोजिम स्थायी कमिटी बैठक तत्काल बोलाइयोस् भनी माग गर्दछौ । स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटीको बैठकमा समेत यी विषयमा छलफल गरी विद्यमान चुनौतिको सामना गर्न सामूहिक निर्णय र संकल्प गरियोस् भन्नेमा जोड दिन चाहन्छौ ।’

यसरी पत्र लेख्ने स्थायी कमिटी सदस्यहरुमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण बिष्ट, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुंग, देवेन्द्र पौडेल, पम्फा भूसाल, वेदूराम भूसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिवोलप्रसाद गजुरेल रहेका छन् । 

उनीहरुले लेखेको पत्र यस्तो छः