काठमाण्डौ । सरकारले कोभिडविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय लिएको हो। बैठकले कोभिसिल्ड भाक्सिन खरिद गर्न भारतको सिरम इन्स्टिच्युटलाई अग्रिम भुक्तानी दिने निर्णय गरेको छ। 

सरकारले सिरमसँग २० लाख डोज भ्याक्सिन खरिद गर्न लागेको छ। जसका लागि सरकारले सिरमसँग १ डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति गरेको छ। तर भुक्तानी प्रक्रियाको विषयलाई लिएर खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन। 

सिरमले खरिद गर्न चाहेको खोपको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो। यो समस्या समाधान गर्न मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउ गरेको हो। 

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खरिद गर्न लागिएको खोपको मूल्यको ८० प्रतिशत राष्ट्र बैंकमार्फत अग्रिम पठाइने बताए। ‘त्यसपछि सिरमले ब्याच नम्बर हाल्न सुरु गर्छ’, उनले भने, ‘अनि खोप पठाउनुअघि २० प्रतिशत रकम पनि भुक्तानी गरिसक्छौँ।’

यद्यपि खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशतमात्रै अग्रिम भुक्तानी दिन सक्नेमात्रै प्रावधान छ।