काठमाण्डौ । कोरोना संक्रमितको बढ्दै गएपछि सरकारले नयाँ मापदण्ड लागू गरेको छ। 

मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षा मापदण्डमा नयाँ व्यवस्था थप गरी लागू गरेको हो। जसअनुसार अब आन्तरिक हवाई उडानमा चालक दल र सबै यात्रुले मास्क तथा फेस सिल्ड अनिवार्य रुपमा लगाउन पर्नेछ। हवाई जहाजभित्र अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ।

अब प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निःसंक्रमित गर्नुपर्ने, चेकइन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्नुपर्नेछ।

त्यस्तै सम्बन्धित वायु सेवा सञ्चालकको खर्चमा यात्रुको एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्रा यात्रा गराउने नयाँ मापदण्ड तोकिएको छ। 

यसैगरी अब मास्क नलगाउनेलाई होटेल, रेस्टुराँ तथा सार्वजनिक स्थलमा प्रवेश निषेध गरिने भएको छ।

होटेल र रेस्टुराँमा सीमित व्यक्तिलाई मात्र राखेर कम्तीमा दुई मिटरको सामाजिक दूरीमा सेवा प्रवाह गर्न निर्देशन जारी गरेको छ।  होटलमा मास्क तथा सेनिटाइजरको अनिवार्य व्यवस्था गर्न पनि भनिएको छ। 

यदि कसैले मास्क नलगाई आएमा त्यस्ता व्यक्तिलाई बढीमा ५ रुपैयाँसम्म लिएर मास्क उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ।