काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा ४ अर्ब ३२ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब ७७ करोडमा सीमित थियो । 

राष्ट्रिय वाणिज्य बैंकले खूद नाफातर्फ ५५.९१ प्रतिशतले वृद्धि गरेको देखिएको छ । बैंकले यो अवधिमा १ अर्ब ५१ करोड संभावित नोक्सानी व्यवस्थाबाट फिर्ता ल्याएको छ । यहीकारण नाफामा उछाल देखिएको हो । 

बैंकले २ अर्ब ८२ करोडमा सीमित संचालन मुनाफालाई बढाएर ४ अर्ब ८० करोडको उचाईमा पुर्याएको छ भने ६ अर्ब ९७ करोडमा सीमित खूद ब्याज आम्दानीलाई वृद्धि गरी ९ अर्ब २२ करोडको उचाई चुमाएको छ । बैंकले ब्याजबाट मात्रै १२ अर्ब २० करोड आम्दानी गरेको छ । उसको ब्याज खर्च २ अर्ब ९८ करोड मात्र छ ।

समीक्षा अवधिमा यो बैंकले १ खर्ब ६९ अर्ब निक्षेप संकलन गरी १ खर्ब २० अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६ अर्ब कर्जा परिचालन गरेको थियो । 

यो अवधिमा बैंकले रिजर्बमा छलाङ मारेको छ । अघिल्लो वर्षसम्म १ अर्ब ८९ करोडमा सीमित रिजर्बमा ३२४.६३ प्रतिशतको छलाङ हानी ८ अर्ब ४ करोडको उचाई चुमाएको छ। 

बैंक व्यवस्थापन खराब कर्जा नियन्त्रणमा भने असफल देखिएको छ । अघिल्लो वर्षसम्म ३.७७ प्रतिशत रहेको यस्तो कर्जा बढेर ४.२५ प्रतिशत पुगेको छ । 

कस्ट अफ फण्ड निकै न्यून अर्थात २.२१ प्रतिशत मात्र छ भने समीक्षा अवधिमा बैंकको सीसीडी रेसियो ७१.३८ प्रतिशत, आधार ब्याजदर ६.२० प्रतिशत, स्प्रेड दर ४.९५ प्रतिशत, इक्वीटीमा प्रतिफल निकै उच्च अर्थात ३४.३० प्रतिशत तथा सम्पत्तिमा प्रतिफल २.१८ प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ भन्दा केही बढी रहेको छ ।