काठमाण्डौ । सरकारले बुधबार एकैदिन झन्डै १५ अर्ब रुपैयाँ खर्च गरेको छ।

सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक गत मंगलबार प्रतिनिधिसभा बैठकबाट पारित हुन सकेन। जसका कारण सरकारले बिहीबारबाट बजेट खर्च गर्न नपाउने अवस्था आएको छ। यही कारण बुधबार एकैदिन सरकारले झन्डै १५ अर्ब रुपैयाँ खर्च गरेको हो।

सरकारी कोषबाट बुधबारमात्रै १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। जसमा चालु खर्चमा ८ अर्ब ७० करोड र वित्तीय व्यवस्थामा ६ अर्ब रुपैयाँ खर्च भएको छ। पुँजीगत खर्च भने १६ करोड रुपैयाँमात्र भएको महालेखाको तथ्यांकमा देखिएको छ। 

महालेखाले बुधबार नै संसदमा प्रतिस्थापन विधेयक जानुअगाडि रोकेको सरकारी भुक्तानी फुकुवा गरेको जानकारी गराएको थियो। महालेखाले २४ भदौबाट लागू हुने गरी ३ दिनका लागि अनिवार्य दायित्वबाहेकका सबै भुक्तानी रोक्न भनेको थियो। यसरी रोकिएको भुक्तानी फुकुवा भएसँगै बुधबार एकैदिन ठूलो रकम खर्च भएको हो। 

प्रतिनिधिसभाको अर्को बैठक ४ असोजमा बोलाइएको छ। यो अवधिमा सरकारले बजेट खर्च गर्न पाउँदैन।