काठमण्डौ । विकास बैंकहरुले सरकारी निक्षेपहरु विकास बैंकहरुमा पनि राख्ने व्यवस्था मिलाउन माग गरेका छन्। 

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकमा पठाएको आफ्नो ४४ बँुदे सुझावमा यस्तो माग गरिएको हो। 

एसोसिएसनले सरकारी निक्षेपहरु हालसम्म वाणिज्य बैंकहरुमा मात्र राखिँदै आएकोमा विकास बैंकहरुमा पनि राखिने व्यवस्था गरिनु उपयुक्त हुने सुझाव दिएको छ। विकास बैंकहरु थप सबल बन्दै गएको र विकास बैंकहरुका शाखा दूरदराजमा पनि रहेकाले सरकारी सेवा प्रदान गर्न सक्ने एसोसिएसनको दाबी छ। 

विकास बैंकहरुले पनि पूर्ण आधुनिक बैंकिङ सेवा वाणिज्य बैंकहरुकै स्तरमा दिने गरेको पनि एसोसिएसनले उल्लेख गरेको छ। ‘जोखिम व्यवस्थापन पनि वाणिज्य बैंकहरुले जस्तै गर्ने गरेको छ’, एसोसिएसनले पठाएको सुझावमा भनिएको छ, ‘बरु विकास बैंकहरुले साना निक्षेप परिचालन र कर्जा प्रवाह गरी जोखिम विविधीकरण गर्दै आएका छन्।