काठमाण्डौ । चीनपछि यूरोप कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । 

यूरोपमा इटलीपछि स्पेनमा गम्भीर अवस्था सिर्जना भएको छ । 

रोयटर्सका अनुसार सोमबार दिउँसोसम्म स्पेनमा कोरोना भाइरसबाट मर्नेको संख्या २२०६ पुगिसकेको छ । सोमबार आधा दिनसम्ममा मात्रै यहाँ ४३४ संक्रमितले ज्यान गुमाएका छन् । 

स्पेनमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार माथि पुगिसकेको छ । 

यीमध्य ३३५५ संक्रमित निको भइसकेका छन् । २३५५ संक्रमितको अवस्था अझै निकै गम्भीर छ । स्पेनमा सोमबार १२ घण्टाभित्र ४ हजार ३२१ नयाँ संक्रमित भेटिएका छन् । यहाँ कोरोना संक्रमण भूसको आगो झै दन्किरहेको छ । 

स्पेनका प्रधानमन्त्री पेडो साञ्चेजले शनिवार देशबासीलाई सम्बोधन गर्दै अझ दुःखदायी अवस्था आउन बाँकी रहेको भन्दै धैर्यले काम लिन आह्वान गरेका थिए । 

स्पेनमा कोरोना भाइरसको संक्रमणबाट जोगिन आपतकाल घोषणा गरिएको थियो । १५ मार्चमा घोषणा गरिएको यो आपतकाललाई अझै लम्ब्याउने सरकारी योजना छ । 

स्पेनको राजधानी म्याड्रिड महामारीको केन्द्र बनेको छ । 

प्रधानमन्त्रीलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा जनाइएअनुसार शहरमा रहेका पुराना घरलाई स्यानिटाइज गर्न सैनिक खटाउन थालिएको छ ।

इटलीमा बनेको खतरनाक स्थितिपछि अब स्पेनले समेत उस्तै खालको बचाउका विकल्पहरुमा ध्यान दिइरहेको छ । 

यसका लागि मानिसहरुलाई सार्वजनिक स्थानदेखि टाढा राख्नका लागि कडा कानूनी व्यवस्था अवलम्बन गरिएको छ । 

बिरामीको बढ्दो संख्यालाई हेरेर देशभर आपतकालीन अस्पतालहरु पनि धमाधम बनाउन थालिएको छ । 

मानिसहरुलाई घरभित्रै बस्न आह्वान गरिएको छ । 

स्पेनका गल्ली तथा बाटाहरु अहिले सुनसान छन् । बजार खालि बनेको छ । 

ड्रोनले शहरी क्षेत्रमा निगरानी बढाइरहेको छ भने सेनाले समेत गस्ती गरिरहेका छन् । 

कसरी बिग्रियो अवस्था ?


करिब ५ लाख वर्ग किलोमिटरमा फैलिएको स्पेनका जनसंख्या ४ करोड ६७ लाख रहेको छ । 

स्पेनको आवदीमा ६५ वर्षभन्दा माथिको उमेरका मानिसहरुको संख्या १७ प्रतिशत रहेको छ । 

स्पेनमा कोरोना भाइरस संक्रमितको पहिलो घटना ३१ जनवरीमा भेटिएको थियो । यसरी हेर्दा डेढ महिनामै यहाँ तहसनहसको अवस्था सिर्जना भएको छ । 

फेब्रुअरीमा संक्रमणको घटनामा खासै तीव्रताले वृद्धि भएन । तर, त्यसपछि भने स्पेनमा संक्रमतिको संख्या सुनामी झै बढिरहेको छ । 

एउटा कारण यो पनि हो कि स्पेनसँग सीमा जोडिएका देशहरुमा समेत कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । 

स्पेनको सीमा फ्रान्ससँग जोडिन्छ र फ्रान्सले इटलीसँग आफ्नो सीमा साझा गरेर रहेको छ । 

फ्रान्स पनि यो भाइरसबाट अछुतो छैन । यहाँ पनि हालसम्म १६ हजार ६८९ मा भाइरस भेटिएको छ, जसमध्ये ६७४ को ज्यान गइसकेको छ। 

इटलीको कुरा गर्ने हो भने हालसम्म कोरोना भाइरसबाट सबैभन्दा बढी ५ हजार ४७६ जनाको मृत्यु भइसकेको छ । यहाँ संक्रमितको संख्या ५९ हजार १३८ पुगिसकेको छ । 

यसबाहेक कोराना भाइरसको संक्रमण फेला परे पनि स्पेनले समयमै सभा, जुलुस तथा धेरै मानिस भीडभाड हुने गतिविधि वा क्षेत्रमा रोक लगाउन सकेन । ८ मार्चमा पर्ने अन्तराष्टिय नारी दिवसको अवसर पारेर स्पेनमा हजारौं मानिसको जुलुस नै निस्किएको थियो । 

तथापि, कतिपय जानकारहरुले भन्छन् कि सरकारको कडाईका बाबजुद त्यहाँका नागरिकहरुले टेरेनन्, भीडभाडमा जान छाडेनन्, आवातजावतलाई जारी राखे र अहिले अवस्था गम्भीर बन्न पुग्यो । 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वका १८६ बढी मुलुकमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । 

हालसम्म विश्वभर ३ लाख ५३ हजार बढी मानिस संक्रमित भइसकेका छन् भने १५ हजार ४१५ को मृत्यु भइसकेको छ । सोमबार १२ घण्टामा मात्र विश्वभर कोरोना संक्रमित १६ हजार बढी नयाँ बिरामी फेला परेका छन् भने यो अवधिमा विश्वभर ७७७ जनाको मृत्यु भइसकेको छ ।