-तिलक कोइराला
बाम गठबन्धनको सरकार बनेपछि लगातार घट्दै आएको शेयर बजारमा चुर्लुम्मै डूबेका  लगानीकर्ताहरुमा तीव्र छटपटी शुरु भएको छ । 

शेयर बजारमा कारोबार भइरहेका १६५ कम्पनीमध्ये ८० वटा कम्पनीको मूल्यआम्दानी अनुपात १५ गुणा तल, लाभांश दिइरहेकामध्ये दुई दर्जन कम्पनीहरुको मूल्य आईपीओकै भाउमा, अधिकांश बाणिज्य बैंकको शेयर मूल्य प्रतिशेयर नेटवर्थकै हाराहारी, सरकारले उच्च महत्व दिएको हाईड्रोका ३२ कम्पनीमध्ये १७ वटाको भाउ १०० रुपैयाँ वा सोभन्दा तल झरिसकेको छ भने नेपाल लाईफ जस्तो बलियो कम्पनीको शेयर मूल्य लगातार घटिरहेको बेला नेशनल लाईफले लाभांश घोषणा गर्दा झन् उल्टो असर परेको छ । यस्तो दृश्य देखिँदा दोस्रो बजारका लगानीकर्ताहरु के गर्ने र के नगर्ने भन्ने सोचाई बनाउनै नसक्ने अवस्थामा पुगेका छन् । बजारमा शेयर किन्न हैन, बेच्न खोज्नेहरुको लर्को लाग्दा मार्जिन कलको समेत असर थपिएर फ्रि फलको अकल्पनीय अवस्था आउने खतरा बढेको छ । 

एकपल्ट गुमाएर शेयर बजारबाट भागेका लगानीकर्ताहरुलाई फेरि फर्काउन असंभव हुने हुँदा सरकारले पूँजीबजारजस्तो संवेदनशील क्षेत्रमा तत्काल हस्तक्षेप गर्नुको विकल्प देखिन्न ।

लाभांश वितरणको निर्णय गरेकै कम्पनीहरुको शेयरको भाउमा उल्टो गिरावटको अवस्था देखिनुले शेयर बिक्ने अवस्थामा बेच्नेहरुकै पल्ला भारी रहेको देखिन्छ, बजारमा कोही पनि लगानी थप्न तयार छैनन्, उल्टोे लगानी झिक्दैछन् भन्ने देखिन्छ । 

बाम सरकार गठनको पूर्वसन्ध्या र चुनाव सम्पन्न भइसकेपछि बजार छिरेका तत्कालीन नेकपा एमाले र माओबादीका मतदाता, समर्थक र कार्यकर्ताहरु धान्नै नसकिने घाटामा परेका छन् । बाम गठबन्धनको सरकार बनेपछि शेयर बजारमा गिरावट आउँछ भन्दै कम्युनिष्टहरुबाट तर्सिने ठूला लगानीकर्ताहरु शेयर बजारबाट भाग्दै गर्दा नेकपा समर्थकहरुले भने ‘आफ्नो दुई तिहाईको सरकार बनेपछि अब त पूँजीबजार राम्रो हुन्छ’ भन्दै उत्साहित भएर लगानी गरेका थिए, तर सरकारको पूँजी बजार विरोधी नीति र अर्थमन्त्री डा. युवराज खतिवडाको नकारात्मक प्रवृतिले पूँजी बजारमा ठूलो क्षति भोग्नेमा नेकपाकै कार्यकर्ताहरु परेका छन् । यसले पार्टी र सरकारप्रति चरम अविश्वास र निराशा पैदा गरिदिएको छ । 

यहाँ आत्महत्या दुरुत्साहनको मुद्धा लगाउन खोज्नेहरुलाई पहिले नै सतर्क पारेर भनिएको छ कि आफ्नो सरकार बनेपछि राम्रो हुन्छ भन्दै लगानी गर्ने शेयर लगानीकर्ताहरु भौतिक रुपमा हैन, आर्थिक रुपमा मर्ने अवस्थामा पुगेका छन् । शेयर बजारमा लगानी गरेका कोही पनि लगानीकर्ता आत्महत्या जस्तो कायरता प्रदर्शन गर्ने पक्षमा छैनन्, तर आर्थिक रुपमा भने बाँच्नै नसकिने अबस्थामा पुगिसके । सरकारले तत्कालै ईमरजेन्सी रेस्क्यु(आपतकालीन उद्धार) नगर्ने हो भने नेकपाकै बहुसंख्यक मतदाता, समर्थक र शुभेच्छुकहरु आर्थिक रुपमा टाट पल्टिने छन्, जसले अर्थतन्त्रका अरु पक्षहरुलाई पनि रोगी बनाउनेछ  । एकपछि अर्को घटनाक्रम बिकास हुँदै जाँदा आउने दिनहरु कति त्रासद होलान् भनी कल्पना गर्न अहिले नै सकिन्न । 

प्रधानमन्त्री केपी ओली ज्यू, चुनावताका तपाइँले ‘बाम सरकार बनेपछि पूँजीबजार झन् राम्रो भएर जान्छ’ भनी गरेको भाषण र चुनाव सकिएपछि अन्नपूर्ण होटलको पत्रकार सम्मेलनमा व्यक्त गरेको अभिव्यक्तिमा आधारित रही नेकपाका मतदाता, समर्थक र शुभेच्छुकहरुले पूँजीबजारमा लगानी बढाएका थिए, यसो गरेर के उनीहरुले अपराध गरे ? उसो भए तपाइँले आफ्ना विश्वासपात्र अर्थमन्त्रीमार्फत पूँजी बजारका लगानीकर्तालाई किन यस्तो सजाय दिंदै हुनुहुन्छ ? के पूँजी बजारमा लगानी गर्नु अपराध हो ? 

हामीले पूँजीबजार बिकास अभियानको रुपमा यहाँहरुको पटक–पटक ध्यानाकर्षण गराएकै छौ कि पूँजी बजारलाई राम्रो बनायो भने यो सरकार र नेकपाकै लोकप्रियता बढ्छ । अर्थतन्त्रको ऐनाको रुपमा हेरिने पूँजी बजारलाई तपाइँहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उदाहरणको रुपमा प्रस्तुत गर्न र लगानी ल्याउने उपकरणको रुपमा प्रयोग गर्न मज्जाले सक्नुहुन्छ, तर यो संभावनालाई नेकपा र सरकारले पूरै बेवास्ता गर्दा सबैतिर बदनामीको दाग लागेको छ । 

'अर्थमन्त्री खतिवडाकै काँधमा सबै कुरा छाड्ने हो भने पुँजीबजारमा आएको संकटले सरकारलाई मात्र बगाउने छैन, नेकपालाई समेत गम्भीर राजनीतिक धक्का लाग्ने निश्चित छ । '

शेयर बजार उच्चतम बिन्दुमा पुगेको बेला २१ खर्बको बजार पूँजीकरण रहेकोमा त्यसयता थपिएका कम्पनीहरु, हकप्रद, बोनस, एफपीओ र आईपीओको हिसाब गर्ने हो भने ३५ खर्ब भन्दा बढीको शेयरबजार पूँजीकरण कायम हुनुपर्ने हो, तर भाद्र २२ गतेको बजार पूँजीकरण हेर्दा १४ खर्ब ९६ अर्बमा झरिसकेको छ । वर्तमान नेकपाकै सरकार गठन भएपछिको अबस्था मूल्याङ्कन गर्दा पनि शेयर लगानीकर्ताहरुले लगभग सात खर्ब रुपैयाँ गुमाइसकेका छन् । २९२ बिन्दुमा नेप्से हुँदा त्यो बेलाका कम्पनीहरुको पूँजी, त्यस यता ती कम्पनीहरुले थपेको पूँजी, नयाँ कम्पनीहरुको सूचिकरण र पूँजी बजारमा बिकास भएको प्रविधि र लगानीकर्ता संख्याको आँकलन गर्दा नेप्सेको अहिलेको बिन्दु ११७८, त्यो बेलाको २९२ भन्दा पनि तल हो । 

पूँजी बजारमा उत्पन्न संकट समाधानका लागि पूँजी बजार बिकास अभियानले काम थालेपछि उच्च राजनीतिक तहमा गरिएको सम्वादबाट नेतृत्वलाई समस्याको गहिराई थाहा नभएको हैन रहेछ भन्ने प्रष्ट भएको छ । प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डसम्मको पहुँँच कायम गरी पूँजी बजारको समस्याबारे ध्यानाकर्षण गराउँदा केही गर्नुपर्ने बोध अबश्य भएको देखिन्छ, तर फटाफट काम गर्नलाई कुन अदृश्य शक्तिले रोकेको छ भन्ने कुरा पत्ता लगाउन मुश्किल देखियो ।

समय घर्किनै लागेको छ, अब पनि ढिलाई गरे सन् १९२९ को अमेरिकाको स्टक मार्केटको घटना नेपालमा पुनराबृत्ति हुने खतरा देखिन्छ । सरकारले पूँजी बजारको उद्धार गर्न खोज्दाखोज्दै पनि नसकेर बजारले लामो समयसम्म प्रताडना ब्यहोरेको त्यो कालो दिन हामी भोग्न तयार छैनौ । समय छँदै पूँजी बजारको ईमरजेन्सी रेस्क्यु सरकारले  गर्नुपर्छ । 

याद गर्नुपर्ने मुख्य कुरा के भने प्रधानमन्त्री वा अर्थमन्त्रीको गुलियो र चिल्लो भाषणले अब पूँजी बजारको संकट थामिन सक्ने छैन । सरकारले शेयर किनिदेओस र मूल्य बढाईदेओस पनि कसैले भनेको छैन र त्यसो गरिए पनि अहिलेको बजारको संकटलाई रोक्न सकिने छैन । मन्त्रिपरिषदकै बैठकबाट केही ठूला खाले निर्णयहरु गरी पूँजी बजारलाई विश्वासमा लिनुपर्ने आबश्यकता खट्किएको छ । 

अर्थमन्त्री खतिवडाकै काँधमा सबै कुरा छाड्ने हो भने पुँजीबजारमा आएको संकटले सरकारलाई मात्र बगाउने छैन, नेकपालाई समेत गम्भीर राजनीतिक धक्का लाग्ने निश्चित छ । 

कम्तीमा १० वटा रणनीतिक काम गरी तत्काल सरकारले पूँजी बजारमा प्रभावकारी हस्तक्षेप गर्नुपर्छ । अर्थमन्त्री खतिवडाले पूँजी बजारको घाँटी अठ्याएर बस्ने, तर दोष जति धितोपत्र बोर्ड र नेप्सेलाई दिने क्रियाकलापले समस्याको गहिराई अरु बढाइदिएको छ । प्रधानमन्त्रीबाटै तत्काल हस्तक्षेप भई रणनीतिक कामहरु नभए आर्थिक रुपमा लगानीकर्ता मर्ने छन्, समय छँदै बचाईयोस् ।

(लेखक पूँजीबजार विकास अभियानका संयोजक हुन्।)