काठमाण्डौ । हवाई सेवा संचालकहरुको विरोधपछि सरकार पूर्ण क्षमतामै आन्तरिक उडान भर्न दिन तयार भएको छ । 

सरकारको यो निर्णयसँगै निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीहरुले असोज ५ गतेदेखि आन्तरिक उडान सुरु गर्ने तयारी थालेका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हवाई सेवाप्रदायकहरुको मागलाई सम्बोधन गरिदिएका हुन् । मन्त्रीस्तरीय बैठकले हवाईजहाजको क्षमताअनुसार नै यात्रु बोक्न पाउने अनुमति दिएको स्रोतले जनाएको छ । 

यसअघिको मन्त्रीपरिषद बैठकले असोज १ गतेदेखि आन्तरिक उडान सुरु हुने र बायुसेवा कम्पनीहरुले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु ओसार्न पाउने निर्णय गरेको थियो । सो निर्णयमा बायु सेवा संचालकहरुले असहमति जनाउँदै पूर्ण क्षमतामा यात्रु बोक्न पाउने व्यवस्था नभएसम्म उडान सुरु नगर्ने अडान लिएका थिए । 

उनीहरुले मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै केही दिनअघि एक ज्ञापनपत्र समेत पेश गरेका थिए । 

उनीहरुको माग सम्बोधन गर्दै पर्यटनमन्त्री भट्टराईले पूर्ण क्षमतामै आन्तरिक उडान भर्न वायु सेवा कम्पनीहरुलाई अनुमति दिने निर्णय गरिदिएका हुन् । 

मन्त्रालयले यो निर्णयको विषयमा नागरिक उड्डयन प्राधिकरणलाई पत्र समेत पठाइसकेको छ । सो पत्रमा सिट क्षमता नतोकिएको र यसलाई प्राधिकरणले पूर्ण क्षमतामै हवाई सेवा संचालन गर्न दिनू भन्ने निर्देशनको रुपमा बुझेको बताइएको छ ।