काठमाण्डौ । सरिता गिरीलाई समाजवादी पार्टी नेपालले कारबाही गरेको छ । 

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले कारबाही गरी सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो । 

पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय भएको हो । 

भारतले मिचेको लिम्पियाधुरा, लिपुलेकसहित नेपालले अद्यावधिक गरेको नक्सा संविधान राख्नका लागि संविधान संसोधन प्रस्तावमा पार्टीको निर्देशन विपरीत उनले खारेजीको प्रस्ताव दर्ता गराउन खोजेकी थिइन् । उनलाई पार्टीलाई सो प्रस्ताव फिर्ता लिन भने पनि अटेर गरेकी थिइन् । 

पाण्डेका अनुसार पार्टी ह्वीप उल्लंघन गरेपछि गिरीलाई कारबाही गरिएको हो । 

गिरीको विषयमा के गर्ने भन्ने बारेमा अध्ययन तथा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा एक कार्यदल बनाएको थियो। सो कार्यदलले गिरीलाई कारबाहीको सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।