काठमाण्डौ । राष्ट्रियस्तरका सबै विकास बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय सार्वजनिक गरेको छ।

अपरिष्कृत वित्तीय विवरणअनुसार नाफाको हिसाबले विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। अझै यो बैंक १ अर्ब बढी नाफा कमाउने एकमात्र विकास बैंक बनेको छ। 

चौथो त्रैमाससम्म मुक्तिनाथ १ अर्ब १५ करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ६२.७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ७० करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

नाफा आर्जनको हिसाबले गरिमा विकास बैंक दोस्रो स्थानमा रहेको छ। यो बैंकले अघिल्लो वर्षको तुलनामा ४२.५७ प्रतिशतले नाफा बढाउँदै ८२.५२ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष बैंकले ५७.७२ करोड नाफा आर्जन गरेको थियो।

ज्योति विकास बैंक बढी नाफा आर्जन गर्ने विकास बैंकको सूचीमा तेस्रो स्थानमा रहेको छ। यो बैंकले ७४.१६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ४८.८४ करोड नाफा आर्जन गरेको थियो।

यसैगरी महालक्ष्मी विकास बैंक नाफाका हिसाबले चौथो स्थानमा रहेको छ। यो बैंकले ७३.२९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष ४२.८५ करोड रुपैयाँमा सीमित थियो।

प्रतिशतका हिसाबले नाफामा छलाङ मारेको कामना सेवा विकास बैंक पाँचौँ स्थानमा छ। यो बैंकले अघिल्लो वर्षको तुलनामा ४८४.९० प्रतिशतले नाफा बढाउँदै ७०.०२ करोडको उचाइमा पुर्याएको छ। 

यस्तै नाफा आर्जनको हिसाबले लुम्बिनी, शाइन रेसुंगा र सांग्रिला डेभलपमेन्ट बैंक क्रमशः छैटौँ, सातौँ र आठौँ स्थानमा छन्। यी बैंकले क्रमशः ५१.६२ करोड, ५१.४५ करोड र ४१.६९ करोड नाफा आर्जन गरेका छन्। 

वितरणयोग्य मुनाफामा पनि आर्थिक वर्ष २०७७/७८ मा मुक्तिनाथ विकास बैंक नै अगाडि देखिएको छ। यो बैंकले वितरणयोग्य मुनाफा ८६.०५ करोड रुपैयाँ रहेको छ।

यसैगरी ६०.५७ करोड वितरणयोग्य मुनाफाबाट साथ गरिमा विकास बैंक दोस्रो र ६०.३० करोडका साथ ज्योति विकास बैंक तेस्रो स्थानमा छन्।

चौथो स्थानमा महालक्ष्मी विकास बैंक रहेको छ। यो बैंकको वितरणयोग्य मुनाफा ५६.३८ करोड रुपैयाँ रहेको छ। 

यसैगरी कामना सेवा विकास बैंकको ४३.४५ करोड, शाइन रेसुंगाको ३७.८९ करोड, लुम्बिनी विकास बैंकको ३७.०७ करोड र सांग्रिला डेभलपमेन्ट बैंकको २८.८३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। 

प्रतिसेयर आम्दानी (ईपीएस) मा भने कामना सेवा विकास बैंक अगाडि देखिएको छ। यो बैंकको ईपीएस २६.४ रुपैयाँ रहेको छ। 

मुक्तिनाथ विकास बैंक २३.९२ रुपैयाँ ईपीएसका साथ दोस्रो र गरिमा विकास बैंक २२.४५ रुपैयाँ ईपीएसका साथ तेस्रो स्थानमा छन्। 
महालक्ष्मी विकास बैंकको ईपीएस २१.९३ रुपैयाँ रहेको छ। यो बैंक चौथो स्थानमा रहेको छ। 

ईपीएसका हिसाबले पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा ज्योति, लुम्बिनी, सांग्रिला र शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेका छन्। यी बैंकको ईपीएस क्रमशः १९.२९ रुपैयाँ, १७.७६ रुपैयाँ, १५.२३ रुपैयाँ र १५.१ रुपैयाँ रहेको छ।