काठमाण्डौ । नेप्सेमा सूचिकृत कम्पनीमध्येकै महंगो युनिलिभर नेपाल लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा ९९ करोड ९४ लाख खूद नाफा कमाएको छ । 

अघिल्लो वर्ष कम्पनीले ९६ करोड ५२ लाख खूद नाफा आर्जन गरेको थियो । 

आ.ब. २०७४/७५ को चौथो त्रैमासमा मात्र २९ करोड २८ लाख खूद नाफा आर्जन गरेको कम्पनीको चौथो त्रैमासको प्रतिसेयर आम्दानी ३१८ रुपैयाँ रहेको छ । पूरा वर्षको प्रतिसेयर आम्दानी भने १०८५ रुपैयाँ कायम भएको छ । 

समीक्षा अवधिमा कम्पनीले बिक्रीबाट ४ अर्ब ८६ करोड ८३ लाख आम्दानी गरेको छ । यो भनेको गत वर्ष भन्दा ४२ करोडले बढी हो । गत वर्ष ४ अर्ब ४४ करोड २४ लाख बराबरको आम्दानी गरेको थियो । 

कम्पनीले चौथो त्रैमासमा मात्रै आफ्ना उत्पादन बिक्रीबाट १ अर्ब ४४ करोड ९१ लाख आम्दानी गरेको देखिएको छ । 

विभिन्न उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खपत बापतको खर्च यो वर्ष ह्वात्तै बढेको देखिएको छ । समीक्षा अवधिमा २ अर्ब ५१ करोड ११ लाख बढी खर्च कच्चा पदार्थ खरीदमा भएको छ । अघिल्लो वर्ष यस्तो खर्च २ अर्ब २४ करोडमा सीमित थियो । 

कम्पनीले विज्ञापन खर्च भने घटाएको छ । अघिल्लो बर्ष ४१ करोड रुपैयाँ विज्ञापनमा खर्च गरेको कम्पनीले गत आर्थिक बर्षमा ३७ करोड मात्र विज्ञापन खर्च गरेको छ ।

यो कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रुपैयाँ मात्र छ भने जगेडा कोषमा १ अर्ब ८१ करोड बढी रकम सञ्चित रहेको छ । 

गत आबको चौथो त्रैमासको कम्पनीको प्रतिसेयर नेटवर्थ २ हजार ६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.९७ गुणा रहेको छ । 

यो कम्पनीको सेयरको मूल्य गत ९० दिनको अवधिमा प्रतिकित्ता बढीमा २७ हजार ५ सय ७० देखि घटीमा २४ हजार ८ सय ९५ रुपैयाँसम्ममा कारोबार भएको छ ।