काठमाण्डौ । सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित भएको छ। 

कम्पनीको मंगलबार सम्पन्न वार्षिक साधारणसभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ६० लाख कित्ता सेयर निष्काशन बुक बिल्डिङ विधिबाट गर्ने विशेष प्रस्ताव पारित गरेको हो। सभाले धादिङ जिल्ला रोरांग गाउँपालिकास्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि १५ करोड १ लाख रुपैयाँमा खानी खरिद गर्ने सञ्चालक समितिको निर्णयलाई पनि अनुमोदन गरेको छ। 

सभामा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल गरी निर्णय गरिएको छ। लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने निर्णय भएको छ। त्यसैगरी आर्थिक वर्ष २०७७/७८ का लागि सञ्चालक समितिले सिफारिस गरेबमोजिम लेखापरीक्षकमा सुभास एन्ड कम्पनी चार्टड अकाउन्टेन्टसलाई नियुक्त गर्ने निर्णय पनि सभाले गरेको छ।