काठमाण्डौ । जन्मदिनको दिन धेरैलाई आफन्तजनले विशेष उपहार दिने गर्छन् । प्रत्येक जन्मदिन अविस्मरणीय रहोस् भनेर त्यसलाई विशेष ढंगले सेलिब्रेट गर्ने चलन शहरिया वर्गमा मात्र नभई गाउँका बासिन्दाहरुमा पनि व्याप्त बन्दै गइरहेको छ । जन्मदिनको दिनलाई विशेष बनाउने गरी पार्टी मनाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि पनि उनको ७० औं जन्मोत्सव अविस्मरणीय रह्यो । उनको जन्मदिनको दिन नै सर्वोच्चले उनलाई विशेष सरप्राइज दियो, तर उनको राजनीतिक अभिष्टमा झट्का लाग्ने गरी । प्रधानमन्त्री बर्थ डे मनाइरहेका थिए, जतिबेला सर्वोच्चले संसद विघटनविरुद्ध परेको मुद्धाको फैसला सुनाइरहेको थियो । 

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई उल्टाउँदै संसद पुनस्र्थापनाको आदेश दिएको हो । सर्वोच्चले अबको १३ दिनभित्र संसदको बैठक बोलाउन समेत भनेको छ । 

संयोग नै मान्नुपर्छ, सर्वोच्चले यति ठूलो राजनीतिक महत्वको फैसला सुनाउँदै गर्दा प्रधानमन्त्री ओली चाहिँ बालुवाटारमा आफू निकटका नेता र आफन्तसँग बर्थ डे सेलिब्रेट गरिरहेका थिए । 

सर्वोच्चको संसद पुनस्र्थापना गर्ने आदेशको विषयमा ओली समूहको प्रतिक्रिया बुझ्न सो समूहका नेता तथा पूर्व सभामुख सुवास नेम्वांगलाई सम्पर्क गर्दा आफूहरु प्रधानमन्त्रीको बर्थ डे मनाउने काममा व्यस्त रहेको प्रतिक्रिया दिएका छन् । नेम्वांगको यो प्रतिक्रियाले समेत सर्वोच्चको फैसला आउँदा ओली बर्थ डे पार्टीमा रमाइरहेका पुष्टि हुन्छ। 

बालुवाटारमै आयोजित बर्थ डे कार्यक्रममा ओलीले पत्नी राधिका शाक्यले लेखेको ‘मेरा अनुभूतिहरु’ नामक पुस्तक पनि विमोचन गरेका थिए । 

 

तर, के प्रधानमन्त्रीलाई सर्वोच्चको फैसलाको विषयमा पूर्व जानकारी थिएन होला त ? स्रोतहरुका अनुसार उनलाई यो फैसलाको विषयमा पूर्व जानकारी थियो । यही छनक पाएकै कारण उनको विराटनगर आमसभामा बोली फेरिएको थियो । उनले त्यहाँ पुगेर सर्वोच्चले संसद पुनस्र्थापना गरे सडक आन्दोलन गर्नेसम्मको चेतावनी दिएका थिए । मंगलबार नै पनि युवा संघको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यसको छनक दिइसकेका थिए । 

यस्तै, उनले संकटकाल लगाउनेसम्मको पूर्व तयारी समेत केही दिनअघिदेखि नै गरिरहेका थिए । आज सुरक्षा परिषदको बैठक डाकेका थिए भने मन्त्रीपरिषद बैठक पनि बसेको थियो । ती बैठकहरुमा समेत प्रधानमन्त्री ओलीले कडा कदम चाल्नसक्ने संकेत गरेका छन् । ओलीले चाल्नसक्ने कदमको विषयमा अहिले नै भन्न सकिने अवस्था भने छैन ।