काठमाण्डौ । सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला सुनाएसँगै नेकपाको प्रचण्ड-माधव नेपाल समूहले देशभर खुशियाली मनाइरहेको छ । 

काठमाण्डौको माइतीघर मण्डला लगायतका क्षेत्रहरुमा सो पार्टीका कार्यकर्ताहरुले विजयोत्सव मनाइरहेका छन् । यही क्रममा भोलिको आमसभालाई सम्बोधन गर्न चितवन पुगेका नेकपाका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले समेत लड्डू एकअर्कालाई खुवाएर खुशी मनाएका छन् । प्रचण्डको निजी सचिवालयका सदस्यहरुका अनुसार सर्वोच्चको संसद पुनस्र्थापना गर्ने फैसलापछि माधव नेपालले प्रचण्डलाई र प्रचण्डले नेपाललाई लड्डू खुवाएर खुशी साटासाट गरेका हुन् । 

यो समूहले भोलि चितवनमा विरोधसभा राखेको थियो । सर्वोच्चको संसद पुनस्र्थापनाको फैसलापछि अब भोलिको विरोधसभालाई विजयसभामा परिणत गरिने प्रचण्ड पक्षका नेताहरुले जानकारी दिएका छन् । 

उता, प्रचण्ड-नेपाल समूहले देशभर खुशी मनाइरहेको बेला केपी ओली नेतृत्वको नेकपाका कार्यकर्ता भने निराश देखिएका छन् । ओलीले चाल्नसक्ने आगामी कदमको विषयमा व्यग्र प्रतिक्षा गरिरहेका देखिएको छ । 

यता, ओलीले समेत आफ्ना निकटका नेता, मन्त्रीपरिषदका सदस्य लगायतलाई बालुवाटार बोलाएर छलफल थालेका छन् । ओलीले कुनै अप्रिय कदम चाल्ने सर्वत्र आशंका गरिएको छ ।