काठमाण्डौ । सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै बजारमा तीव्र गिरावट देखिएको छ । 

विगतमा नेपाली कांगे्रेस नेतृत्वको सरकार बन्ने खबरले मात्रै पनि बजारमा उछालको अवस्था आउथ्यो । तर, कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने फैसला र लामो राजनीतिक गतिरोध अन्त गर्दै संसद पुनस्र्थापना समेत गर्न भनिएको आदेशपछि भने बजार आम अनुमानविपरीत एकाएक घट्न थालेको छ । आखिर बजारमा के भइरहेको छ त यस्तो ? किन कांग्रेस नेतृत्वको सरकार बन्ने खबर आएलगत्तै बजार यसरी घटेको हो ? वा सर्वोच्चको परमादेश आएको यही मौकामा ठूला लगानीकर्ताले सानालाई मूर्गा बनाउने खेल त खेलिरहेका हैनन् ? लगानीकर्ताहरुमा जिज्ञासा देखिएको छ । 

सरसर्ती हेर्दा कांग्रेस नेतृत्वको सरकार बन्ने खबरले बजार बढ्नुपर्ने विश्लेषकहरु दाबी गर्छन् । ‘देउवाको नेतृत्वमा सरकार बनेपछि बजार कम्तीमा ३०० अंकले बढ्छ भन्ने हाम्रो विश्लेषण हो ।’ बजारका विश्लेषकहरुले प्राय एउटै मत देखिएको छ–‘फैसला आएलगत्तै बजार तीव्र गतिमा घटाउन खोजिएको हो । यसमा सोझा लगानीकर्ता सचेत बन्नुपर्छ ।’ 

जनकार तथा विश्लेषकको भनाईलाई आधार मान्ने हो भने बजार यसरी तीव्र घट्ने स्वभाविक होइन । ‘चलखेल गरेर बजारलाई तीव्र गतिमा घटाउन खोजिएको हो ।’ उनीहरु भन्छन्–‘घटाएर सस्तोमा सेयर किनी फेरि देउवा नेतृत्वको सरकार बनेपछि बढाउने दाउ हेरिएको हो । लगानीकर्ता अत्तालिने अवस्था छैन ।’ 

सर्वोच्चको यो आदेशपछि लामो समयको राजनीतिक गत्यारोधको अन्त भएको छ । ‘संकटकाल पो लाग्ने हो कि’ भन्ने जस्ता अफवाहको समेत समूल नष्ट भएको छ । राजनीतिक गतिरोधकै नाममा लामो समयसम्म बजार घटाउने गिरोहहरुबाट सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् । अब राजनीतिक गतिरोध अन्तपछि पनि फेरि बजारमा चलखेल गर्ने प्रयास भएको छ । 

ब्रोकरहरु पनि देउवा नेतृत्वको सरकार बनेपछि बजारमा सकारात्मक प्रभाव पर्ने विश्लेषण गर्दै बसिरहेका थिए । उनीहरु यो फैसलाबाट निकै उत्साहित देखिएका छन् । ‘फैसला आएलगत्तै बजार घटाउन खोजिएको छ, सचेत बन्नुपर्छ सबै ।’ एक ब्रोकरले भने–‘विष्णु पौडेल अर्थमन्त्रीबाट हट्ने परे भन्ने हल्ला फिजाएर घटाएका हुनसक्छन् । तर, सेयर बजारका लागि उनीभन्दा बजारमैत्री अर्थमन्त्री कांग्रेसबाट आउँछन्, विगत हेरे त्यो कुरा पुष्टि हुन्छ । तसर्थ अब बजार बुम हुन्छ।’