काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व कानूनी फन्दामा परेको छ । बहुसंख्यक पदाधिकारीहरुले विरोध गर्दागर्दै अदालतको विचाराधीन बिषयलाई लत्याउँदै महासंघको नेतृत्वले फागुन २५ गते जिल्ला नगर उपाध्यक्षको नयाँ निर्वाचन गराउने तयारी थालेपछि त्यसको विरोधमा परेको उजुरीमा अदालतले महासंघलाई कारणदेखाउ आदेश जारी गरेको हो । 

उद्योग वाणिज्य महासंघका निलम्बित जिल्लानगर उपाध्यक्ष प्रमोद श्रेष्ठले आफूलाई अन्यायपूर्वक पदबाट निलम्बन गरिएको र सो मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा महासंघको नेतृत्वले अदालतको समेत अवहेलना हुने गरी उपाध्यक्षको नयाँ निर्वाचनको मिति तोकेको भन्दै मुद्धा दायर गरेका थिए । 

उनले फागुन १४ गते महासंघको नेतृत्वले अदालतको अवहेलना गरेकोमा कारबाहीको माग गर्दै रिट दायर गरेका थिए । उनको रिटमाथि फागुन १६ गते न्यायाधीश चोलेन्द्र समशेर जबराको एकल इजलासले विपक्षी उद्योग वाणिज्य महासंघलाई कारणदेखाउ आदेश जारी गर्ने निर्णय सुनाएको हो । अदालतले वादी(प्रमोद श्रेष्ठ)ले दाबी गरे अनुसार अदालतको अवहेलनामा महासंघलाई किन कारबाही नगर्ने भन्दै त्यसको जवाफ ५ दिनभित्रमा पठाउन आदेश दिएको छ । 

सर्वोच्चले कारणदेखाउ आदेश जारी गरेपछि महासंघको नेतृत्व अत्तालिएको छ । यद्यपि महासंघ अध्यक्ष भवानी राणालाई अदालतसँग आफूले सेटिङ मिलाइसकेको भन्दै फागुन २५ गते नै जिल्लानगर उपाध्यक्षको निर्वाचन गराउनुपर्ने भन्दै निर्णय गर्न दवाब दिएका पूर्वअध्यक्ष चण्डीराज ढकालकै कारण यस्तो अवस्था आएको भन्दै महासंघका केही पदाधिकारी उनीप्रति रुष्ट बनेका छन् । पूर्वाग्रही ढंगले ढकाल अगाडि बढ्न खोजेका र छायाँ अध्यक्षको रुपमा महासंघको वर्तमान नेतृत्वमाथि नै हैकम जमाउन खोजेपछि उनीहरु थप रुष्ट रहेका स्रोत बताउँछ । 

महासंघका अधिकांश पदाधिकारीहरु अदालतमा विचाराधीन रहेको बिषयमा हतार गरेर हस्तक्षेप गरेजस्तो काम गर्न नहुने पक्षमा छन् । उनीहरुले जिल्लानगर उपाध्यक्षको निर्वाचन समेत अदालतको पूर्ण इजलासले चैत ८ गते गर्ने फैसलापछि मात्र गर्नुपर्नेमा जोड दिइरहेका छन् । महासंघ अध्यक्ष राणालाई समेत उनीहरुले अदालतको अवहेलना हुने गरी कुनै काम नगर्न आग्रह गरिरहेका छन्, तर राणा भने ढकालको उक्साहटमा लागेकी भन्दै उनीहरु क्रूद्ध बनेका हुन् । 

महासंघको पछिल्लो गतिविधिका कारण जिल्लानगरमा संगठनको लोकप्रियता र प्रतिष्ठा नै घटिरहेको भन्दै केही पदाधिकारी चिन्तित बन्न थालेका छन् । महासंघलाई टक्कर दिन नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले समेत आफ्ना सञ्जाल जिल्ला र नगरसम्म फैलाइरहेको बेला महासंघलाई भने चण्डीराज ढकालले आफ्ना विरोधी सिध्याउने प्लेटफर्म बनाउन थालेपछि संगठनको साख नै धरापमा पर्न थालेको उनीहरुको ठम्याई छ । ‘रिसाएर हिँडेका, कुरा तथा सिद्धान्त नमिल्ने उद्योगी व्यवसायीहरुलाई समेत समेटेर अगाडि बढ्नुुपर्ने बेलामा महासंघको नेतृत्व एउटा व्यक्तिको योजनामा जथाभावी प्रयोग हुने अवस्था राम्रो भएन ।’ एक पदाधिकारीले नाम गोप्य राखिदिन आग्रह गर्दै भने–‘महासंघमाथि चारैतिरबाट प्रहार भइरहेको अवस्थामा यसको छविमा आँच आउने काम गर्नु र गर्न उक्साउने दुवै प्रवृति गलत छ । महासंघलाई बचाउने हो भने अब जिल्ला र नगरबाट समेत उद्योगी व्यवसायीले नेतृत्वलाई खबरदारी गर्नुपर्ने बेला आएको छ ।’ ती पदाधिकारीले महासंघलाई ढकाल एण्ड क्लब बनाउनबाट जोगाउनुपर्नेमा समेत जोड दिए ।  

यी समाचार पढ्न छुटाउनुभयो कि ?

-एफएनसिसीआईमा छायाँ अध्यक्षको निरकुंश शासन: भवानीलाई पंगु बनाइँदै !

-ब्रेकिङ: सरकारी बैंकको साढे २ अर्ब बढी पचाएका चण्डी ढकालविरुद्ध अख्तियारमा उजुरी