काठमाण्डौ । लक्ष्मी बैंकले आइतबार सल्यानको सल्लीबजारमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ ।  बैंकको यस क्षेत्रमा, श्रीनगर पश्चात् यो दोस्रो शाखा हुनेछ । 

यस अनुसार, लक्ष्मी बैंकको शाखा सञ्जाल अब ६९, ३ हस्पिटल सेवा काउन्टर, ८७ ए टि एम, २५०० भन्दा बढी रेमिटेन्स् अनि ४०० भन्दा बढी मोबाईल एजेन्टहरु पुुगेका छन् । यी शाखाहरुकासाथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने विश्वास राखेको छ ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखा तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवाप्रदान गर्दै आएको छ । 

बैंकले ७ सय बढी कर्मचारीमार्फत ३६ जिल्लामा आफ्नो सेवा पुर्याएको छ । बैंकले सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै सन् २००९ मा मोवाइल बैंकिङ्ग (मोवाइलमनी) सेवा संचालन गरेको हो ।

आ.व. २०७३/७४मा ५७.८०  अरब निक्षेप र ५०.२१ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ६८.०५ अरब रहेको छ । सोही आ.व.मा बैंकले १०१ करोडको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । 

लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी हाल ५१ वटा शाखा मार्फत लघुवित्त सेवाप्रवाह गरिरहेको छ ।  लक्ष्मी बैंकले लक्ष्मी भ्यालू फण्ड नामक दोस्रो म्यूचुअल फण्ड सेवाको समेत सफलता पूर्वक संचालन गरिसकेको छ ।