काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को अनलाइन कारोबार प्रणालीबाट सेयर कारोबार गर्नेको संख्या सवा २ वर्षमै ३७ गुणाभन्दा बढीले प्रयोगकर्ता बढेका छन्।

सन् २०१८ अक्टोबरदेखि सञ्चालनमा ल्याइएको अनलाइन कारोबार प्रणाली ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) मार्फत लगानीकर्ता स्वयंले सेयर किनबेच गर्दै आइरहेका छन्। सन् २०१९ मा ७ हजार ९०७ अनलाइनमार्फत सेयर खरिदबिक्री गर्थे भने सन् २०२० मा २ लाख ४० हजार ४११ प्रयोगकर्ता थपिए भने सन् २०२१ को पहिलो महिना जनवरीसम्म ४५ हजार ९८७ जना अनलाइन प्रयोगकर्ता थपिएका छन्।

आज सोमबारसम्म अनलाइन कारोबारमा संलग्न लगानीकर्ता २ लाख ९५ हजार ३०५ पुगेको तथ्यांक छ। पहिलो वर्षको तुलनामा सवा १ वर्षमै अनलाइन प्रयोगकर्ता ३७.२२ गुणाले बढेको देखिन्छ।

हाल धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या ४ लाख ८४ हजार ३०२ पुगेको छ भने अनलाइनमार्फत २ लाख ९४ हजार ३०५ जनाले सेयर किनबेच गर्दै आइरहेका छन्।

पछिल्लो एक वर्षमा अनलाइनमार्फत सेयर किनबेच गर्नेको संख्या निरन्तर बढ्नुमा कोभिड–१९ लाई कारकका रुपमा लिइएको छ। आज विश्वभरि नै महामारीको रुप धारण गरेको कोभिडले अनलाइन बिजनेसले छलाङ मारिरहेका बेला नेपालमा पनि कोभिडकै कारण अनलाइन कारोबार प्रणालीमा आबद्ध भई सेयर किनबेच गर्ने परिस्थिति बनेको बजार सम्बद्ध जानकारहरु बताउँछन्।

नेपाल स्टक एक्सचेञ्जका अनुसार हिजोआज नेप्सेको वेबसाइट हेर्नेको संख्या निरन्तर घटिरहेको तर नेप्सेको अनलाइन सिस्टम टीएमएस खोल्नेको संख्यामा उछाल आएको छ। नियमित कारोबार समयको पहिलो सेसन (बिहान ११ बजेदेखि १२ बजेसम्म) मा नेप्सेको टीएमएस २ लाख ५० हजार देखि २ लाख ८० हजारसम्म ट्राफिक पर्ने गरेको छ भने यसपछि निरन्तर घट्दै ८० हजारसम्म ट्राफिक पर्दछ।

यसैगरी नियमित कारोबार  समयको अन्तिम समय (२ः३० देखि ३ः०० बजेसम्म) २ लाख ३० हजार हाराहारी ट्राफिक देखिन्छ।

पछिल्लो समय नेप्सेको अनलाइन कारोबार प्रणालीको सहज पहुँचले नेप्सेको वेबसाइट हेर्नुभन्दा टीएमएस हेर्नतर्फ लगानीकर्ता आकर्षित भइरहेका छन्। सहज ढंगले टीएमएसमार्फत लगानीकर्ता स्वयंले किनबेच गर्दा अधिक समय टीएमएसमा व्यस्त रहने भएकाले पनि कहिलेकाहीँ ट्राफिक जाम पर्ने गरेको आईटी जानकार बताउँछन्। प्रयोगकर्ताले टीएमएसमार्फत सेयर किनबेच गर्दा उच्च गतिको इन्टनेट, उच्च कार्यसम्पादन गर्ने (ल्यापटप, कम्प्युटर) को प्रयोग गर्न आईटी जानकारको सुझाव छ।