काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा कारोवार लगायतका बैंकिङ सुविधा प्रदान गर्ने सम्वन्धमा  सम्झौता भएको छ। 

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा वैशाख १४ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्का र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको हालको अवस्था, बैंकले प्रदान गर्दै आएको सेवावारे जानकारी गराउँदै ७ प्रदेश ७७ जिल्लामा नै शाखा रहेको बैंकले सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताए। बैंकले गत आ.व.को मुनाफाबाट ३३ प्रतिशत लाभांश दिन सफल भएको समेत जानकारी श्रेष्ठले गराए। 

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले संगठनले विभिन्न कल्याणकारी योजनाहरुमार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आइरहेको उल्लेख गरे। उनले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकसँग भएको सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीहरुले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधालगायत कर्जा सुविधासमेत न्यून शुल्कमा प्राप्त गर्ने बताए। 

केसीले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रदान गरिने सेवा तथा सुविधा वितरणमा उक्त बैंकले पुर्याउने सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै सो सुविधाले सकल दर्जाका कर्मचारीहरुको हौसला अभिवृद्धि भई  राज्यप्रदत्त जिम्मेवारीहरुमा अझ कटिबद्ध भई क्रियाशील रहन ऊर्जा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरे। 

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरुले पाउने तलब भत्ता तथा आर्थिक सुविधाहरु अनिवार्य रुपमा बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने नेपाल सरकारको नीति अनुरुप भएको सो सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीहरुले बिनाधितो ५ वर्षका लागि अधिकतम रु. १५ लाख सम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरुसमेत पहिलो वर्षका लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन्।  

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरु तथा सो बैंकका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो। देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङका माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ।