काठमाण्डौ । डेटम सिस्टम्स प्राइभेट लिमिटेडले विकास गरेको ग्राहकलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने ट्रस्टएमल सिस्टम सहकारी संस्थाको लागि पनि उपलब्ध गराउन डेटम सिस्टम्स प्राइभेट लिमिटेड र सहकारी संस्थाहरुमा बैंकिङ सफ्टवेयर उपलब्ध गराउने अग्रणी संस्था इन्फो डेभलपर्स प्राइभेट लिमिटेडबीच समझदारी भएको छ।  

सो समझदारीपत्रमा डेटम सिस्टम्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहाल र इन्फो डेभलपर्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीलेले हस्ताक्षर गरेका छन् । 

यस समझदारीबाट सहकारी संस्थाहरुले  अत्यन्त सरलिकृत रुपमा  सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ र सहकारी बिभागले समय–समयमा दिएका निर्देशन बमोजिम  ग्राहकको पहिचान गर्न, त्यसको अभिलेख राख्न र ग्राहकको पहिचान गर्दा प्राप्त विवरणको आधारमा जोखिम निर्धारण गर्न सक्नेछन् । 

ग्राहकको पेशा, स्थान, व्यवसायको प्रकृति, बैंकबाट प्रदान गरिएको सेवा र डेलिभरि  च्यानल समेतको आधारमा जोखिम निर्धारण गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा, वा ग्राहकको कामकारबाही शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्ने तथा ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन गर्न समेत यसले सहयोग पुर्याउने बताइएको छ । 

यसका अतिरिक्त  ट्रस्टएमल सिस्टमको प्रयोगबाट सहकारी संस्थाहरुले वित्तीय जानकारी इकाईमा रहेको गोएमल सिस्टममा सीमा कारोबार, शंकास्पद कारोबार र शंकास्पद गतिविधि प्रतिबेदन इलेक्ट्रोनिक माध्यमबाट पठाउन सक्नेछन्।

डेटम सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहालले बैंकहरुले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सहकारी संस्थामा भएको प्राबधानको कार्यान्वयन गर्न आबश्यक पर्ने साधन, स्रोत, प्रबिधि र ज्ञान सहकारी संस्थासम्म पुग्न यस समझदारी कोशेढुंगा हुने दाबी गरे । 

बैंकिङ सफ्टवेयर विकास गर्ने संस्था र सम्पत्ति शुद्धिकरण निवारण गर्न कार्य गर्ने सफ्टवेयर विकास गर्ने संस्थाको सहकार्यबाट नेपालमा छरिएर रहेका सहकारी संस्थाहरुलाई सस्तो र सुलभ रुपमा उपलब्ध भएपछि सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय लक्ष्य र सन् २०२१ हुने  परस्पर मूल्याङ्कनमा पुग्न सहयोग मिल्ने  इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत रघुवंशीले बताए ।