काठमाण्डौ। नेपाल वायुसेवा निगमले प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले सहरी क्षेत्रमा उडान भर्न सक्ने थप २ वटा जहाज किन्ने कार्ययोजना अगाडि बढाएको छ। 

यसअघि निगमले दुर्गम क्षेत्रमा उडान भर्ने लक्ष्यसहित ३ वटा जहाज किन्ने तयारी अघि बढाएको थियो। दुर्गममा उडान भर्ने जहाज किन्ने विषयमा गठन भएको अध्ययन समितिले प्रतिवेदन बुझाएपछि निगमले थप २ जहाज खरिद प्रक्रिया अघि बढाएको हो।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार यसका लागि निगम सञ्चालक समितिका सदस्य वरिष्ठ क्यापटेन सुधीरशमशेर राईको नेतृत्वमा ९ सदस्यीय उपसमिति गठन गरिएको छ। ‘उपसमितिले आगामी २१ दिनभित्र सहरी क्षेत्रमा उडान भर्ने जहाज किन्ने प्रतिवेदन बुझाउनेछ’, प्रवक्ता पौडेलद्वारा प्रेस विज्ञप्तिमा भनिएको छ।

सहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएका कारण निगमले हाल सहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा भर्न नसकेको विज्ञप्तिमा उल्लेख छ। निगमन दुईवटा जहाज खरिद गरेपश्चात काठमाण्डौ, विराटनगर, भेरहवा, पोखरा, नेपालगन्ज, धनगढीलगायतका नेपालका सहरी क्षेत्रबाट प्रादेशिक उडान भरी अझै धेरै यात्रुलाई सेवा गर्न सकिने निगमले जनाएको छ। 

यी जहाज संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी खरिद गरिने पनि निगमले स्पष्ट पारेको छ। 

जहाज खरिदपश्चात अन्तर्देशीय पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडादर केही हदसम्म सुपथ हुने र निगमनको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास निगमको छ।